कैलाली। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले आज ३ बजे विश्वासको मत लिदैछन् । विश्वासको मतका लागि बैठक आह्वान गरिएपनी नागरिक उन्मुक्ति पार्टीका दुई सांसदले विश्वासको मत नदिने भएका छन् ।
काठमाडौंमा भएको छलफलमा नाउपाका २ र स्वतन्त्र एक सांसदले विश्वासको मत नदिने भएका हुन् ।नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठसहित नाउपाका कैलाश चौधरी र स्वतन्त्र सांसद तारा जोशीबीच छलफलले विश्वास मत नदिने निर्णय गरेको छलफलमा सहभागी एक नेताले बताए । सुदूरपश्चिममा नाउपाका ७ सांसद छन् ।
नाउपाकै टीका थापा पनि विश्वासको मतको विपक्षमा उभिने भएको स्रोतको भनाइ छ । नाउपकै दुई सांसद नआउने भएपछि स्वतन्त्र सांसदले पनि उपस्थित नहुने अडान लिएका हुन् । कांग्रेसका मुख्यमन्त्री शाहले नाउपा, स्वतन्त्र, राप्रपा र आफ्नो पार्टीका सबैको मत पाउँदा ठिक्क बहुमत २७ पुग्छ । तर, नाउपाका २ र स्वतन्त्र १ सांसद उपस्थित नहुने भएपछि शाहको सत्ता धरमरमा परेको छ । विश्वासको मत नपाउने देखेपछि कांग्रेसका सांसदले मुख्यमन्त्रीलाई राजीनामा दिन सुझाव दिइसकेका छन् ।