दार्चुला। दार्चुलामा करेन्ट लागेकी महिलाको मृत्यु भएपछि स्थानीयले सडक अवरुद्ध गरेका छन्। दार्चुलाको शैल्यशिखर नगरपालिका वडा नम्बर-१ बारिलकी ५५ वर्षीया कुमारी तितराको मृत्यु भएपछि स्थानीयले सडक बन्द गराएका हुन्।
चैत ९ गते घर नजिकै बाख्रा चराउने क्रममा भुइँमा लत्रिएको तारमा छुनगई करेन्ट लागेर उनी गम्भीर घाइते भएकी थिइन्। दार्चुलाको गोकुलेश्वर अस्पतालमा सामान्य उपचारपछि तितरालाई काठमाडौँ रिफर गरिएको थियो । करेन्ट लागेर घाइते तितराको हिजो राति उनको उपचारका क्रममा काठमाडौँमा मृत्यु भएको हो। उनको बर्निङ अस्पतालमा निधन भएको हो।
मृतकका आफन्त र स्थानीयले क्षतिपूर्तिको माग गर्दै गोकुलेश्वर–गन्ना सडक अवरुद्ध पारेका छन् । विद्युत प्राधिकरणले भुइँमा लत्रिएको तारमा छोएर करेन्ट लागेको बताएको थियो । तर, स्थानीयहरुले होचो पोलका कारण छोइएर करेन्ट लागेको बताएका छन्। उनीहरुले पीडित परिवारलाई क्षतिपूर्ति दिनुपर्ने, विद्युत प्राधिकरणसँग भएको सहमति अनुसार उपचार खर्च दिनुपर्ने लगायतका माग राखेका छन् । विद्युत वितरण केन्द्रसँग बेलाबेला लाईन मर्मतका लागी माग गर्दा कुनै सुनुवाई नभएको स्थानीयहरुको गुनासो गर्दै गरेका थिए ।