काठ्माडौँ। नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टाराईले आफूलाई ‘मूर्ख’को संज्ञा दिएका छन् । सामाजिक सञ्जालमा एक लामो स्टाटससहित आफ्नै फोटो स्केच शेयर गर्दै उनले विम्बात्मक रुपमा आफूलाई मूर्ख भनेका हुन् ।
पञ्चायतदेखि हालसम्मको राजनीतिक अवस्थाको ब्याख्या गर्दै डा.भट्टराईले भनेका छन्,बाबुरामजस्ता केही ‘मूर्ख’हरू नयाँ ढंगले राजनीतिको अग्रगामी पुनर्संरचना गरौँ र नयाँ आर्थिक क्रान्ति गरौँ भनेर हारगुहार गरिरहेछन्,तर त्यो अरण्यरोदन बनिरहेछ । ‘ अहिलेको राजनीतिक अवस्था निरकुंश पञ्चायती कालरात्री जस्तो भएको दावी गरेका उनले ०३३/०३४ सालतिर जस्तै जनतामा चरम निराशा छाएको र पार्टीहरु टुटफुटबाट गुज्रिरहेको बताएका छन् ।
बाबुरामको स्टाटस: नयाँ पुस्तालाई थाहा नहुन सक्छ ! तर मलाई झलझली सम्झना छ– देशको अहिलेको राजनीतिक अवस्था करिब करिब २०३३/०३४ सालको निरंकुश पन्चायती कालरात्री जस्तो छ। मण्डलेतन्त्रको बिगबिगी थियो। जनतामा चरम निराशा थियो। प्रतिबन्धित पार्टीहरू टुटफुटबाट गुज्रिरहेका थिए। बिपी भित्र–बाहिर सबैतिरबाट चेपिएर बरू राजासंग मिलेर बस्छु भन्दा पनि नसहेर जेलमा कोचिएका थिए। पुष्पलाल आफ्नै साथीहरूबाट ‘गद्दार’ घोषित भएर एक्लिएका थिए ।
दिनदिनै रेडियोबाट समाचार आउथ्यो– आज प्रनेका (प्रतिबन्धित नेपाली कांग्रेस)का महामन्त्री पंचायत प्रवेश गरे ! भोलि प्रनेका (प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टी)का पोलिटब्युरो सदस्य पंचायत प्रवेश गरे ! आदि इत्यादि !मान्छे जिब्रो टोकेर कानेखुशी गर्थे– राजाको निरंकुश ‘पंचायती प्रजातन्त्र’ सय बर्ष टिक्ने भयो ! अर्को बर्ष विद्यार्थी आन्दोलनको लहर जनआन्दोलनमा बदलियो, राजा जनमतसंग्रह गराउन बाध्य भए ! राजनीति अलि खुकुलो भयो । पार्टी छोडेर पन्चायतमा आत्मसमर्पण गर्नेहरू फटाफट पार्टीमा फर्कन थाले।
फेरि पनि जनमत संग्रहमा बहुदललाई धाँधली गरेर हराइयो । पुष्पलाल केही अगाडि २०३५ सालमा एक्लिएकै अवस्थामा ‘गद्दार’ कै पगरी भिरेर संसारबाट विदा भए । बिपीले केही बर्षपछि २०३९ सालमा हतास र निराश अवस्थामा इहलोक परित्याग गरे ।दश बर्षभित्र अर्को जनआन्दोलन उठ्यो । बहुदल पुनर्स्थापना भयो। कांग्रेस र कम्युनिष्ट (मुख्यतः एमाले) सत्तामा आए। कांग्रेसका भित्तामा बिपी र कम्युनिष्टका भित्तामा पुष्पलाल सजिए। परिवर्तन अपूरो भयो भनेर हाम्रो नयाँ पुस्ताले अर्को सशस्त्र विद्रोह गर्यो । दश बर्षको सशस्त्र संघर्ष र त्यसको पूरक जनआन्दोलन र मधेसविद्रोह लगायतका संघर्षको बलमा देशमा संघीय लोकतान्त्रिक गणतन्त्र आयो ।
तर इतिहासको नियमै अनुसार हिजोका अधिकांश क्रान्तिकारीहरू नयाँ सत्ताको चास्नीमा क्रमशः डुब्दै गए ! देशको आर्थिकरसामाजिक रूपान्तरणको काम अधूरै रह्यो ! युवाहरूमा चरम निराशा छाएर विदेश पलायन भैरहेछन्। बाबुरामहरू जस्ता केही ‘मूर्ख’हरू नयाँ ढंगले राजनीतिको अग्रगामी पुनर्संरचना गरौँ र नयाँ आर्थिक क्रान्ति गरौँ भनेर हारगुहार गरिरहेछन्, तर त्यो अरण्यरोदन बनिरहेछ ! के इतिहासको गति रोकिन्छ तर ? भनिन्छ– हिस्टोरी रिपिट्स, बिकज् मेन रिपिट्स देयर मिस्टेक्स्। गल्ति सच्याऊकक, इतिहास दोहोरिन नदिऊँ !