बाजुरा। बाजुराका स्थानीयको आर्थिक अवस्थालाई मजबुत बनाउने उद्देश्यले सञ्चालित जिल्लाका अधिकांश सहकारी संस्था पछिल्लो समय हराउन थालेका छन् । सहकारी संस्थाको उद्देश्यअनुसार काम गरेर आर्थिक कारोबार चुस्त दुष्ट राख्दै आएका केही संस्थाले आफ्नो आर्थिक कारोबार राम्रो सँग चल्दै आएपनि अधिकांश संस्था भने पछिल्लो समय हराउँदै गएका छन् ।
जिल्लाको पूर्वी उत्तर क्षेत्रमा पर्ने जगनाथ गाउँपालिकामा केही समय अघि निकै चर्चामा आएको जनज्योति महिला सहरकारी संस्था पछिल्लो समय गुमनाम अवस्थामा रहेको छ । सो संस्थाले स्थानीयहरूको आयआर्जनमा थप टेवा पुर्याउने लक्ष्यका साथ यहाँका सयौँ महिला सदस्यहरूबाट थुप्रै पैसा उठाउने गरेको थियो ।
पछिल्लो समय यो सहकारी संस्था टाँट पल्टिएपछि अहिले यहाँका महिलाहरूलाई आफूले जम्मा गरेको बचत समेत हात पार्न निकै सकस भएको छ । यो संस्थाका सदस्य प्राय सबै महिला छन् । पछिल्लो समय कारोबार सँगै सहकारीको भवन समेत जीर्ण बन्दै गएपछि अहिले यहाँका महिलाहरूले आफ्नो बचत समेत हात पार्न सकस भएको हो ।२०६८ साल कात्तिक २८ गते सुरु गरेको सो महिला सहकारी संस्थाको कारोबार २०७८ साउन ८ गतेबाट रोकिएसँगै पछिल्लो समय यहाँका महिलाहरूले सहकारीलाई हिसाब माग्न सुरु गरेका हुन् सहकारीको कारोबार नहुँदा अहिले यो सहकारीको भवन समेत निकै जीर्ण बन्दै गएको छ । यहाँ भित्र रहेको संस्थाका कागजात समेत हराउँदै गएका छन् ।
पहिला संस्थाले राम्रो सँग लगानी गर्दै आएको रकम पछिल्लो समय असुली नभएपछि जनज्योति महिला सहकारी संस्था अहिले बन्द हुन पुगेको जगनाथ गाउँपालिका–१ लुमामा केपी सार्कीले बताए ।उनले भने, “उता सहकारी संस्था सञ्चालन नहुँदा अहिले यसको भवन समेत निकै जीर्ण बन्दै गएको छ । महिलाहरूले जम्मा गरेको आफ्नो पैसा पाएका छैन । संस्थाको भवन भत्किएर यसमा गरेका कागजात समेत हराउँदै गएका छन् ।’’
मेरो आमा र श्रीमतीले सागको मुठा बेचेर पनि सहकारी संस्थामा पैसा जम्मा गरे। अहिले त्यो पैसाको फाइदा पाउनुको उल्टै बचत मात्र माग्न जाँदा सहकारीका अगुवाहरूले उल्टै झपारेर फर्काउने गरेको सार्कीले बताए ।यो जनज्वोती महिला सहकारीमा संस्थामा साबिकको जगनाथ गाविसका १ देखि ९ सम्मका ३३२ महिलाहरूले झण्डै १२ लाख भन्दाबढी रकम जम्मा रहेका थिए । त्यो रकम १५० जनाले लिएको र अन्यले भने आफ्नो बचत समेत नपाएको संस्थाका अन्य महिला सदस्य बताउँछन् ।दुई सय बत्तीस जना सदस्य रहेको यो सहकारी संस्थामा एघार जनाको कार्यसमिति छ । यो समितिले पटक पटक बैठक बसाल्न खोज्दा पनि कोही नआउने भएपछि संस्था बन्द हुन पुगेको जनज्योति सहकारी संस्थाका अध्यक्ष मायादेखि बोगटीले बताए।
उनले भने, “बचत गरेको रकमलाई सदस्यहरूमा नै लगाउन गरेका हौ । अहिले उनीहरूले नै लामो समय सम्म त्यो रकम रोकिदिएपछि संस्थाका अन्य सदस्यको बचत फिर्ता गर्न समस्या भएको हो ।”साबिकको जगनाथ गाउँपालिका १ देखि ९ सम्मका महिलाहरूले जम्मा गरेको रकमलाई लगानी गरेको र अहिले त्यो रकम कसैबाट पनि सङ्कलन नभएपछि संस्था बन्द भएको अध्यक्ष बोगटीले बताए ।उनले भने, “बिस रुपियाँ बचत गर्ने सदस्यको १६ देखि १८ हजार र एक सय रुपियाँ जम्मा गर्ने सदस्यहरूको पैँतीस हजार , एक हजार जम्मा गर्ने सदस्यको तीस हजार रुपियाँ सम्म रकम पुगेको छ ।” यो रकम सबै लगानी लगाएको छौँ । सो लगानी गरेको रकम अहिले सम्म असुली नभएकोले बचत फिर्ता गर्न समस्या भएको जनज्योति महिला सहकारी संस्थाकी अध्यक्ष बोगटीले बताए ।गोरखापत्र