बझाङ। आगामी वैशाख १५ गते हुने बझाङ प्रदेश सभा–१ को उपनिर्वाचनका लागि राजनीतिकदल बिच चुनावी सरगर्मी बढेको छ। सुदूरपश्चिमको पहाडी जिल्ला बझाङ प्रदेश सभा-१ को उपनिर्वाचनका लागि नेपाली कांग्रेस, नेकपा एमाले,नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी र राप्रपालगायतका दल बिच चुनावी सरगर्मी बढेको हो।
तर पनी उनीहरु एक्ला एक्लै मैदानमा उत्रिने तयारीमा जुटेपनि अन्तिम घोषणा हुन भने बाँकी छ। यस निर्वाचन क्षेत्रमा विगतदेखि मुख्यतया दुई दल कांग्रेस र एमालेको दबदबा रहँदै आएको छ। यसअघि कांग्रेसबाट निर्वाचित पृथ्वीबहादुर सिंहको निधन भएपछि हाल उपनिर्वाचन भईरहेको छ। अघिल्लो निर्वाचनमा कांग्रेस यस निर्वाचन क्षेत्रमा माओवादी र एकीकृत समाजवादी गठबन्धन गरेर चुनाव लडेका थिए । माओवादी र एकीकृत समाजवादीको साथ पाउँदा कांग्रेसका पृथ्वीबहादुर सिंह १७ हजार ११२ मतसहित विजयी भएका थिए।
उनका निकटतम प्रतिस्पर्धी एमालेका अफिलाल ओखेडाले १३ हजार ३३६ मत पाएका थिए। भने राप्रपा नेपालका उम्मेदवारले ४२६ र राप्रपाका उम्मेदवारले ४०६ मत पाएका थिए। अहिले एमालेबाट जिल्ला अध्यक्ष दमनबहादुर भण्डारी र एकीकृत समाजवादीबाट दिलबहादुर सिंह टिकट लिएर बझाङ गइसकेका छन् ।कांग्रेसले चैत २० मा उम्मेदवार टुङ्गो लगाउने छ भने माओवादीले उम्मेदवारी दिने निर्णय गरे पनि उम्मेदवार चयन गर्न सकेको छैन ।यद्यपि सत्ता साझेदार एमाले, माओवादी र एकीकृत समाजवादीले साझा उम्मेदवार खडा गर्ने सम्भावना कायमै छ।
एकीकृत समाजवादीले उपनिर्वाचनमा बझाङलाई बटम लाइन बनाएको छ ।बझाङको प्रदेश सभामा दिलबहादुर सिंहलाई समर्थन गरे वैशाख १५ मै हुने इलाम-२ को प्रतिनिधिसभा निर्वाचनमा एमालेका उम्मेदवार सुहाङ नेम्वाङलाई समर्थन गर्ने एकीकृत समाजवादीको सर्त छ । उपनिर्वाचनमा साझा उम्मेदवार बनाउने विषयमा प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एमाले अध्यक्ष केपी शर्मा ओली र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालबिच चैत १२ मा छलफल भएको थियो।
उक्त छलफलमा अध्यक्ष नेपालले बझाङ एकीकृत समाजवादीले पाउनुपर्ने अडान राखेका थिए। एमाले अध्यक्ष ओलीले आफ्नो उम्मेदवार ‘ब्याक’ नहुने जवाफ दिएपछि एकीकृत समाजवादीले उम्मेदवार नै खडा गरिसकेको छ । २०१५ को आम निर्वाचनमा बझाङको निर्वाचन क्षेत्रबाट कांग्रेस विजयी भएको थियो। बझाङ प्रदेश सभा–१ मा समानुपातिकतर्फ एमालेले १३ हजार, कांग्रेसले १० हजार, माओवादीको ३५ सय, एकीकृत समाजवादीको ४ हजारको हाराहारीमा मत पाएको दलहरूको दाबी छ । यद्यपि निर्वाचन आयोगले बझाङ प्रदेश सभा १ र २ को समानुपातिक मत परिणाम छुट्टाछुट्टै सार्वजनिक गरेको छैन। निर्वाचन आयोगका अनुसार उपनिर्वाचनमा करिब २५ सय नयाँ मतदाता थपिएका छन्।