बझाङ। बझाङ प्रदेश सभा–१ को उपनिर्वाचनका लागी प्रमुख दुई दल नेपाली कांग्रेस र नेकपा एमालेबिच रोचक भिडन्त हुने देखीएको छ । आगामी वैशाख १५ गते हुने उपनिर्वाचनका लागी कांग्रेस,एमाले,माओवादीकेन्द्र र एकीकृत समाजवादी एक्लाएक्लै मैदानमा उत्रिने तयारीमा जुटेका छन् ।
तरपनी मुख्यतया दुई दल कांग्रेस र एमालेबिच नै टक्कर पर्ने देखीएको हो । सुदूरपश्चिमको पहाडी जिल्ला बझाङमा २०५६ को निर्वाचनसम्म कांग्रेसको दबदबा रहेकोमा त्यसपछि एमालेले प्रभाव विस्तार गरेको देखिएको छ ।
गत असार ५ मा सवारी दुर्घटनामा परी प्रदेश सभा–१ बाट निर्वाचित कांग्रेसका पृथ्वीबहादुर सिंहको निधन भएको थियो। सिंहको निधनपछि उक्त स्थान रिक्त छ । २०७९ मा प्रत्यक्षतर्फ कांग्रेस, माओवादी र एकीकृत समाजवादीको तत्कालीन गठबन्धनसँग हार बेहोरेको एमालेले समानुपातिकका प्रतिनिधि सभा र प्रदेश सभातर्फ पहिलो मत पाएको छ ।
यद्यपि प्रतिनिधि सभातर्फ एकीकृत समाजवादीले जित्दा प्रदेश सभा–१ मा कांग्रेस २ मा माओवादी केन्द्र विजयी भएको थियो ।उक्त निर्वाचनमा माओवादी र एकीकृत समाजवादीको साथ पाउँदा कांग्रेसका पृथ्वीबहादुर सिंह १७ हजार ११२ मतसहित विजयी भएका थिए । उनका निकटतम् प्रतिस्पर्धी एमालेका अफिलाल ओखेडाले १३ हजार ३३६ मत पाएका थिए । भने राप्रपा नेपालका उम्मेदवारले ४२६ र राप्रपाका उम्मेदवारले ४०६ मत पाएका थिए ।
अहिले एमालेबाट जिल्ला अध्यक्ष दमनबहादुर भण्डारी र एकीकृत समाजवादीबाट दिलबहादुर सिंह टिकट लिएर बझाङ गइसकेका छन् ।कांग्रेसले चैत २० मा उम्मेदवार टुङ्गो लगाउने छ भने माओवादीले उम्मेदवारी दिने निर्णयगरे पनि उम्मेदवार चयन गर्न सकेको छैन ।यद्यपि सत्ता साझेदार एमाले, माओवादी र एकीकृत समाजवादीले साझा उम्मेदवार खडा गर्ने सम्भावना कायमै छ । एकीकृत समाजवादीले उपनिर्वाचनमा बझाङलाई बटमलाइन बनाएको छ ।बझाङको प्रदेश सभामा दिलबहादुर सिंहलाई समर्थन गरे वैशाख १५ मै हुने इलाम–२ को प्रतिनिधिसभा निर्वाचनमा एमालेका उम्मेदवार सुहाङ नेम्वाङलाई समर्थन गर्ने एकीकृत समाजवादीको शर्त छ ।
उपनिर्वाचनमा साझा उम्मेदवार बनाउने विषयमा प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एमाले अध्यक्ष केपी शर्मा ओली र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालबिच चैत १२ मा छलफल भएको थियो । उक्त छलफलमा अध्यक्ष नेपालले बझाङ एकीकृत समाजवादीले पाउनुपर्ने अडान राखेका थिए । एमाले अध्यक्ष ओलीले आफ्नो उम्मेदवार ‘ब्याक’ नहुने जवाफ दिएपछि एकीकृत समाजवादीले उम्मेदवार नै खडा गरिसकेको छ ।२०१५ को आम निर्वाचनमा बझाङको निर्वाचन क्षेत्रबाट कांग्रेस विजयी भएको थियो ।
२०४८ को आम निर्वाचनमा पनि बझाङका तत्कालीन २ वटा निर्वाचन क्षेत्रमा कांग्रेस विजयी भएको थियो । २०५१ को मध्यावधि निर्वाचनमा बझाङ–१ मा एमालेका भानुभक्त जोशी र २ मा स्वतन्त्र उम्मेदवार नरेशबहादुर सिंह निर्वाचित भएका थिए । सिंह अहिले कांग्रेसमा छन् । २०५६ को आम निर्वाचनमा बझाङका २ क्षेत्रमा कांग्रेसले पुनरागमन गरेको थियो । २०६४ मा बझाङ– १ मा एमाले र २ मा माओवादी केन्द्र विजयी भएको थियो । प्रदेशसभा र स्थानीय तहको विगतको मत परिणाम हेर्दा एमाले बलियो देखिन्छ । उसको निकटतम् प्रतिस्पर्धीमा कांग्रेस छ। बझाङ प्रदेश सभा–१ मा माओवादी केन्द्र र एकीकृत समाजवादीको जनमत उस्ताउस्तै छ ।
२०७० को निर्वाचनमा बझाङका २ वटै क्षेत्रमा एमाले निर्वाचित भएको थियो । २०७२ मा संविधान निर्माण भएपछि राज्य पुनर्संरचना हुँदा बझाङमा एउटामात्र निर्वाचन क्षेत्र तोकियो । मुलक सङ्घीय संरचनामा जाँदा बझाङमा २ वटा प्रदेश सभा तोकिए । त्यसपछि ७४ मा भएको निर्वाचनमा प्रतिनिधिसभामा एमाले निर्वाचित भयो भने प्रदेश सभा–१ मा एमाले र २ मा माओवादी केन्द्रले बाजी मारेका थिए ।
एमाले–माओवादीको तत्कालीन वाम गठबन्धनविरुद्ध चुनावी मैदानमा उभिएका कांग्रेसले बझाङका प्रतिनिधि र प्रदेशसभा गरी ३ वटै सिटमा हार बेहारेको थियो । २०७९ मा आउँदा एमालेले कांग्रेस, माओवादीका साथै आफूबाट छुट्टिएको एकीकृत समाजवादी सम्मिलित गठबन्धनको सामना गर्नुपरेको थियो । प्रदेशसभा र स्थानीय तहको विगतको मत परिणाम हेर्दा एमाले बलियो देखिएको छ । बझाङ प्रदेश सभा–१ मा माओवादी केन्द्र र एकीकृत समाजवादीको जनमत उस्ताउस्तै छ ।
गत मंसिर ४ मा सम्पन्न प्रदेशसभा निर्वाचनमा बझाङ प्रदेश सभा–१ मा समानुपतिकतर्फ एमालेले १३ हजार, कांग्रेसले १० हजार, माओवादीको ३५ सय, एकीकृत समाजवादीको ४ हजारको हारहारीमा मत पाएका ती दलहरूको दाबी छ । निर्वाचन आयोगले बझाङ प्रदेश सभा १ र २ को समानुपातिक मतपरिणाम छुट्टाछुट्टै सार्वजनिक गरेको छैन् । निर्वाचन आयोगका अनुसार उपनिर्वाचनमा करिब २५ सय नयाँ मतदाता थपिएका छन् ।स्थानीय तहमा पालिकातर्फ कांग्रेस र वडातर्फ एमालेको बर्चश्व छ । बझाङ प्रदेश सभा–१ मा साईपाल, सुर्मा, तलकोट, छविसपाथिभेरा, मष्टा, खप्तडछान्ना गाउँपालिका, जयपृथ्वी नगरपालिका र थलरा गाउँपालिकाको ९ नम्बर वडा पर्छन् ।
कांग्रेसले जयपृथ्वी, सुर्मा, मष्टा र खप्तडछान्ना जितेको छ भने साईपाल र तलकोट एमालेले जितेको छ । माओवादी केन्द्रले छविसपाथिभेरामा अध्यक्ष जितेको छ । ५० वडा रहेको प्रदेशसभा–२ मा एमालेले १८, कांग्रेसले १५, एकीकृत समाजवादी ७ माओवादीले ६ र स्वतन्त्र उम्मेदवारले ४ ठाउँमा जितेका छन् । स्थानीय तह र प्रदेश सभा समानुपातिक तर्फको मत हेर्दा बझाङ प्रदेश सभा–१ को जनमतमा एमाले अगाडि छ । एकीकृत समाजवादीले एमाले बझाङको नेतृत्व सम्हालिसकेका दिलबहादुर सिंहलाई उम्मेदवार बनाएको छ । सिंहले केही मत एमालेबाट चोर्न सक्ने देखिन्छ । माओवादी केन्द्रले पनि उम्मेदवार खडा गरेको अवस्थामा एमालेसँग प्रतिस्पर्धामा कांग्रेसलाई सहज हुने देखिन्छ। चारै दल एक्लाएक्लै चुनावी मैदानमा उत्रिए एमाले र कांग्रेसबिचको भिडन्त रोचक हुने बझाङको विगतको गणितले देखाउँछ ।