दार्चुला। दार्चुलामा भीरबाट लडेर वडा सचिवको मृत्यु भएको छ। जिल्लाको मालिकार्जुन गाउँपालिका वडा–५ डाडाकोटस्थित भिरबाट लडेर वडा सचिव ४० वर्षीय गंगाराम लुहारको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।
वडाको कामकाजका लागि उनी पालिका आएका थिए। घटना हिजो भएको र प्रहरीले आज बिहान करिब साढे ८ बजेतिर जानकारी पाएको हो। उनी हिजो बेलुकीतिर लडेको हुन सक्ने प्रहरीले अनुमान छ। घटनाको अनुसन्धान तथा घटनास्थल मुचुल्काका लागि इलाका प्रहरी कार्यालय लालीबाट प्रहरी निरीक्षक डम्मरदत्त भट्टको कमान्डमा टोली परिचालन गरिएको छ। शवलाई अहिले पोस्टमार्टमका लागि जिल्ला अस्पताल ल्याउन लागिएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।