धनगढी। कैलालीको धनगढी उपमहानगरपालिकास्थित छ लेन सडकमा निर्माण गरिएको स्वागत गेटमा ‘फ्लड लाइट’ जडान गरिएको छ । उपमहानगरपालिका–१३ स्थित मोहनपुरमा निर्माण गरिएको स्वागत गेटमा ‘फ्लड लाइट’ लगाइएको हो।
गेटमा जडान गरिएको लाइटका कारण जोकोहीले ‘आहा धनगढी सहर’ भन्ने गरेका छन् । चार लाख ४७ हजार रुपियाँ लगानीमा स्वागत गेटमा ३२ वटा ‘फ्लड लाइट’ जडान गरेको उपमहानगरपालिकाले जनाएको छ ।छ लेन सडकलाई उज्यालो र आकर्षक बनाउने क्रममा केही दिनअगाडिबाट मात्रै स्ट्रिप लाइट बाल्न सुरु गरिएको हो । ‘फ्लड लाइट’ जडानले रातिको समय स्वागत गेट आकर्षक देखिने गरेको छ ।
‘फ्लड लाइट’ को एक कार्यक्रमबिच उद्घाटन गर्दै उपमहानगरपालिकाका उपप्रमुख कन्दकला रानाले धनगढीको बाटोलाई उज्यालो बनाउने क्रम जारी रहेको बताए ।यसअघि उपमहानगरपालिकाले १९ लाख ५६ हजार रुपियाँ लागतमा मोहनपुरमा स्वागत गेट निर्माण गरेको थियो । गत मङ्सिर २७ गते स्वागत गेट निर्माणका लागि उप्रेती बिल्डर्स एन्ड इन्जिनियर्स प्रालिसँग ठेक्का सम्झौता भएको थियो । प्रालिले स्वागत गेट निर्माण गरेर धनगढी उपमहानगरपालिकालाई हस्तान्तरण गरेपछि ‘फ्लड लाइट’ जडान गरिएको हो ।