काठमाडौं। पूर्व डीआईजी रमेश खरेलले राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) छोडेका छन्। आफूले बुधबार रास्वपा पार्टीमा राजीनामा बुझाएर परित्याग गरेको जानकारी दिए।
आम चुनाव २०७९ मा काठमाडौं–१ मा चुनाव लडेका उनी गत वैशाख १० मा भएको उपचुनावमा रास्वपामा जोडिएका थिए। खरेल रास्वपाबाट बारा–२ मा उपचुनाव लडेका थिए, तर जनता समाजवादी पार्टी (जसपा)का उपेन्द्र यादवसँग पराजित भए।
चुनावपछि रास्वपाको कुनै भूमिकामा नरहेका खरेलले पछिल्लो समय पार्टी सभापति समेत रहेका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि प्रश्न उठाउँदै आएका थिए । यसलाई लिएर रास्वपाले स्पष्टीकरण सोधेको थियो । ‘उहाँहरूले स्पष्टीकरण सोध्नुभएको थियो, मैले राजीनामा दिएको छु’ खरेलले टेलिफोनमा भने ।
महामन्त्री ढकालले भने, ‘उहाँसँग स्पष्टीकरण सोधिएको थियो,’ ‘उहाँले अंग्रेजीमा राजीनामा पत्र लेखेर पठाउनुभएको छ।’ गहन विचारपछि आफू राजीनामाको निष्कर्षमा पुगेको खरेलले राजीनामा पत्रमा उल्लेख गरेका छन्। ‘तुरून्तै लागू हुने गरी राष्ट्रिय स्वतन्त्र पार्टीबाट मैले आधिकारिक रूपमा राजीनामा लेखिरहेको छु। गहन रूपमा विचार गरेपछि म पार्टीबाट अलग हुने समय आइपुगेको निर्णयमा पुगेँ।
अवसर र अनुभवको मौका दिएकोमा रास्वपाप्रति आभार व्यक्त गर्दछु,’ राजीनामा पत्रमा खरेलले उल्लेख गरेका छन्, ‘यद्यपि पछिल्लो घटनाक्रम, पार्टीको नीति र सिद्धान्तहरूसँग मेरो विचार र प्राथमिकता मिल्न सकेन।’ यसअघि सुशासन पार्टीका अध्यक्ष रहेका खरेललाई रास्वपाले केन्द्रीय सदस्य बनाउन खोजे पनि जिम्मेवारी लिन भने अस्वीकार गरेका थिए। २०७९ मंसिर ४ गतेको निर्वाचनमा खरेल सुशासन पार्टीका तर्फबाट काठमाडौं–१ को उम्मेदवार बनेका थिए।