धनगढी। चिसापानीस्थित कर्णाली पुलबाट नदीमा हाम फालेर बेपत्ता भएका युवकको खोजी कार्य स्थगीत गरिएको छ । कर्णाली नदीमा बेपत्ता भएका लम्कीचुहा नगरपालिका–३ का ३० वर्षीय लोकेन्द्र शाहीको मंगलबार दिनभर खोजी गरिएको थियो ।
सोमबार दिउँसो सामूहिक तस्बिर खिच्ने भन्दै १७ जना युवाले क्रमशः हाम फालेका थिए । नेपाल प्रहरी, सशस्त्र प्रहरीको गोताखोरको टोली र स्थानीय समेतले शाहीको खोजी गरेपनि उनी भेटिएका छैनन् । साँझ परेका कारण मंगलबारलाई खोजी कार्य स्थगीत गरिएको इलाका प्रहरी कार्यालय चिसापानीका प्रमुख प्रहरी निरीक्षक हरिराम डाँगीले जानकारी दिए ।
‘नेपाल प्रहरी, सशस्त्र प्रहरीको गोताखोरको टोलीसहित नदीमा उनको खोजी गरेका थियौँ तर भेटिनुभएको छैन,’ प्रहरी निरीक्षक डाँगीले भने, ‘साँझ परिसकेकाले खोजी कार्य स्थगीत गरिएको छ । आज बुधबार बिहानैदेखि पुनः खोजी गरिनेछ ।’सोमबार होलीमा रमाइलो गर्दै कर्णाली पुलमा पुगेका १७ जना युवाले एकसाथ कर्णाली नदीमा हाम फालेका थिए । उनीहरु मध्ये १६ जना पौडी खेलेर सकुशल तैरिएपनि शाही भने नदीमै बेपत्ता भएका थिए ।
इलाका प्रहरी कार्यालय चिसापानीकाअनुसार माथिल्लो शरीरको कपडा फुकालेर सडकमा डुलिरहेका उनीहरुलाई नदीतर्फ नजान भनिएको थियो तर साथीहरु धेरै पछि भेट भएकाले सामूहिक तस्बिर खिच्न गइरहेको भन्दै उक्त समूह अघि बढेको थियो ।प्रहरी निरीक्षक डाँगीले कर्णाली नदीमा हाम फालेका मध्येका ६ जनालाई घटनाबारे सोधपुछका लागि नियन्त्रणमा लिइएको बताए । उनका अनुसार उनीहरुलाई सोधपुछपछि मात्र घरपरिवारको जिम्मा लगाइनेछ ।