गोदावरी। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले फागुपूर्णिमालगत्तै विश्वासको मत लिने तयारी गरिरहेको बताउनुभएको छ । मुख्यमन्त्री शाहले सञ्चारमाध्यम सँगको कुराकानीमा सो तयारीबारे जानकारी दिएका हुन्।
सङ्घीय सरकारमा नेकपा एमाले र नेकपा माओवादी केन्द्र सहितका दल मिलेर नयाँ समीकरण निर्माण गरिएपछि नेकपा ९माओवादी केन्द्र० र नेकपा एकीकृत समाजवादी ले सरकार छाडेका थिए । त्यसपछि मुख्यमन्त्री शाह नेतृत्वको सरकार अल्पमतमा परेको थियो ।
मुख्यमन्त्री शाहले आफ्नो पक्षमा बहुमत जुटाउन नागरिक उन्मुक्ति पार्टी, राप्रपा र स्वतन्त्र सांसदलाई साथमा लिएर विश्वासको मत प्राप्त गर्ने गृहकार्य थालेका हुन् ।विश्वासको मत कहिले लिनुहुन्छ भन्ने जिज्ञासामा मुख्यमन्त्री शाहले भने, “हामी जुन दल र व्यक्तिसँग विश्वासको मत लिन खोजेका छौँ, उहाँहरूसँग छलफल जारी नै छ । सहमतिको नजिक नजिक छौँ ।” अन्तिम सहमति हुन बाँकी रहेको तर आफूले विश्वासको मत पाउनेमा ढुक्क रहेको मुख्यमन्त्री शाहको दाबी छ ।
मुख्यमन्त्री शाहले नागरिक उन्मुक्ति पार्टीका प्रदेश सभा सदस्यलाई दुई साताअघि मन्त्री नियुक्त गरेका थिए। मुख्यमन्त्री शाहले राप्रपाका एक मात्र प्रदेश सभा सदस्य खिमादेवी विष्ट र स्वतन्त्र तारा जोशीलाई साथमा लिएर मन्त्रीमण्डल विस्तारको तयारी गरिरहेका छन् ।
सुदूरपश्चिम प्रदेश सभामा बहुमतका लागि कम्तीमा २७ जनाको समर्थन आवश्यक पर्दछ । मुख्यमन्त्री शाहलाई कांग्रेस, नागरिक उन्मुक्ति, स्वतन्त्र र राप्रपाले पक्षमा मतदान गरेमा आवश्यक सङ्ख्या ठ्याक्क २७ पुग्छ । ५३ सदस्यीय प्रदेश सभामा एक जनाको निधन भएपछि हाल ५२ सदस्य छन् ।प्रदेश सभामा नेपाली कांग्रेसका १८, माओवादी केन्द्रका सभामुखसहित ११, एमालेका १०, नागरिक उन्मुक्ति पार्टीका सात, एकीकृत समाजवादीका चार, राप्रपाका एक र स्वतन्त्र एक सांसद छन् । गोरखापत्रबाट