काठमाडौं। दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पक्राउ परेका छन् । प्रवर्तन निर्देशनालयले बिहीबार साँझ केजरीवाललाई उनको निवासबाट पक्राउ गरेको हो। समाचार एजेन्सी पीटीआईले अधिकारीहरूलाई उद्धृत गर्दै लेखेको छ पक्राउ परेका दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई शुक्रबार नै पीएमएलए अदालतमा पेश गरिनेछ।
ईडीले सोधपुछका लागि उनको हिरासत खोज्नेछ। अहिले दिल्लीका मुख्यमन्त्रीको निवास बाहिर ठूलो संख्यामा अर्धसैनिक बल र दिल्ली पुलिसका जवानहरू उपस्थित छन्। मुख्यमन्त्री निवासबाहिर आम आदमी पार्टीका कार्यकर्ताको भीड लगातार बढिरहेको छ । यससँगै आम आदमी पार्टीले यस विषयमा सर्वोच्च अदालतको ढोका ढकढक्याइरहेको छ ।
भ्रष्टाचारको आरोपमा दिल्लीका मुख्यमन्त्री अरविन्द केजरिवाल पक्राउ परेसँगै भारतमा चर्को प्रतिक्रिया उत्पन्न भएको छ । भारतमा आमनिर्वाचन सुरु हुन केही साता मात्रै बाँकी रहँदा सरकारको यो कदमलाई विश्लेषकले राजनीतिक मानेका छन् । केजरीवाल भारतका चर्चित राजनीतिज्ञ हुनुका साथै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका कटु आलोचक हुन् । तेस्रो पटक प्रधानमन्त्रीको कुर्सी ताकिरहेका मोदीले केजरीवाललाई पक्राउ गरेर आफ्ना विरोधीहरुलाई कडा सन्देश दिन खोजेको विश्लेषण गरिएको छ ।
मोदी सरकारको अनुदार र अतिवादी छविलाई यो घटनाले अझै धेरै प्रस्फुटन गरेको विश्लेषण पश्चिमी मिडियाहरूले गरेका छन् । भारतीय मिडियाहरू भने सधैँजस्तो मोदीकै प्रतिरक्षामा उभिएका छन् । विश्वको सबैभन्दा ठूलो लोकतन्त्र भनेर चिनिने भारतको छवि मोदीको कार्यकालमा धुलिसात भएको आरोप छ । उनले देशभित्रका धार्मिक अल्पसंख्यक, खासगरी मुस्लिमहरूलाई निरन्तर दमन गर्दै आएका छन् । हिन्दू जनसंख्यामा भने उनको लोकप्रियता चुलिँदो छ ।
केजरीवाल र उनको आम आदमी पार्टी (आप) माथि मदिरा नीति निर्माण गर्दा अनियमिता गरेको आरोप लगाइएको छ । उले मदिरा डिलरहरुसँगै आर्थिक लेनदेन गरेर उनीहरूको स्वार्थमा काम गरेको भन्दै छानबिन सुरु गरिएको थियो । यद्यपि, केजरीवालले आफूमाथि लागेको आरोप अस्वीकार गर्दै आएका छन् र उनको पार्टीले यो गिरफ्तारीमा राजनीतिक षडयन्त्र रहेको बताएको छ । यही विवादमा आपका अन्य दुई जना नेतालाई यसअघि नै गिरफ्तार गरिएको थियो । यसलाई लिएर केजरीवालले मोदीको भारतीय जनता पार्टीमाथि संघीय एजेन्सीहरूलाई प्रयोग गरेर विपक्षीलाई निशाना बनाइएको आरोप लगाइरहेका थिए । केजरीवाललाई प्रहरीले पक्राउ गर्दा आपका कार्यकर्ताहरूले बिहीबार उनको निवासबाहिर जम्मा भएर नाराबाजी गरेका थिए । आपका कार्यकर्ताहरूको अवरोध पन्छाउँदै इन्फोर्समेन्ट डिरेक्टोरेट (इडी) का अधिकारीहरूले केजरीवाललाई लिएर हिँडे ।
‘यसले पुष्टि हुन्छ कि आज इडी एउटा स्वतन्त्र अनुसन्धान एजेन्सीका रूपमा छैन,’ आपका नेता अतिशी सिंहले भने, ‘यो विजेपीको राजनीतिक हतियारजस्तो बनेको छ ।’विजेपीका वरिष्ठ नेता रवि शंकर प्रसादले भने केजरीवाल पक्राउ पर्नु स्वभाविक भएको बताए । उनले भने, ‘यो एउटा कानूनी प्रक्रिया हो जुन भ्रष्टाचार नियन्त्रणका लागि अति आवश्यक छ । कानूनलाई आफ्नो काम गर्न दिनुपर्छ ।’ भ्रष्टाचारविरोधी अभियान चलाएर नै नै राजनीतिमा उदाएको हो केजरीवालको आम आदमी पार्टी । सन् २०१५ को चुनावमा आपले दिल्लीमा बहुमत ल्याउँदै सरकार बनाएको थियो भने पाँच वर्षपछि दोस्रो कार्यकालका लागि चुनाव जित्यो । १५ वर्षपछि दिल्लीलाई कांग्रेसको हातबाट खोस्दै केजरीवाल, जो एक पूर्व कर आयुक्त थिए, मुख्यमन्त्री बनेका थिए । तल्लो तप्काका जनताका एजेन्डाहरू उठाएर राजनीतिमा लोकप्रियता कमाएका नेता हुन् उनी । उनको नेतृत्वको सरकारले भारतको राजधानी शहरमा खानेपानी, स्वास्थ्य र शिक्षालाई प्राथमिकतामा राखेर काम गरिरहेको थियो ।
सानो पार्टी भए पनि सत्तारुढ भारतीय जनता पार्टीलाई लल्कार्न सक्ने एउटा प्रभावशाली राजनीतिक शक्तिका रूपमा आपले आफूलाई उभ्याएको थियो । केजरीवालले मोदीविरोधी नेताका रूपमा आफ्नो सशक्त छवि बनाइरहेका थिए । त्यसैले उनीप्रति प्रधानमन्त्री मोदीको व्यक्तिगत चिडचिडाहट थियो नै । आपले आउँदो आम निर्वाचनमा २६ वटा विपक्षी राजनीतिक दलको गठबन्धनबाट प्रतिस्पर्धा गर्दैछ ।
भारतको मुख्य प्रतिपक्षी दल इन्डियन नेसनल कांग्रेसले विजेपीमाथि कर विभागलाई प्रयोग गरेर आफ्नो पार्टीको वित्तीय प्रणाली अवरुद्ध तुल्याएको आरोप लगाएको केही घण्टापछि नै केजरीवाल गिरफ्तार भए । कांग्रेसका अनुसार उनीहरूको बैंक खाता कर विभागले रोक्का गरेको दाबी गरेको छ, जसले गर्दा बैंकमा रहेको २ करोड डलरभन्दा बढी रकम प्रयोग गर्न सकिरहेको छैन ।‘हामी आफ्नो अभियानका कामहरू गर्न सकिरहेका छैनौँ । आफ्ना कार्यकर्ता र उम्मेदवारलाई सहयोग गर्न असमर्थ भइरहेका छौँ । हाम्रा नेताहरू देशको एउटा कुनाबाट अर्को कुनामा जान सक्ने अवस्था छैन । हामी सञ्चारमाध्यममा विज्ञापन दिन सकिरहेका छैनौँ,’ कांग्रेसका नेता राहुल गान्धीले दिल्लीमा पत्रकार सम्मेलन गर्दै भनेका थिए ।भारतका थुप्रै विपक्षी नेताहरूले केजरीवाल पक्राउको विरोध गरेका छन् । ‘एउटा त्रसित तानाशाह मृत प्रजातन्त्र सिर्जना गर्न चाहन्छ,’ गान्धीले एक्समा लेखेका छन् ।