काठमाडौं। बाँसबारी छालाजुत्ता जग्गा प्रकरणमा उद्योगी विनोद चौधरीले इन्कारी बयान दिएका छन्। उनले बाँसबारी छालाजुत्ताको सरकारी जग्गा कानुन बमोजिम नै हालको सीजी चाँदबाग रेसिडेन्सीको नाममा आएको बयान दिएका जिल्ला सरकारी वकिल कार्यालय स्रोतले जनाएको छ ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले बाँसबारी छालाजुत्ताको जग्गा प्रकरणमा अनुसन्धानका लागि चौधरीलाई बिहीबार जिल्ला सरकारी वकिल कार्यालयमा बोलाएको थियो । उनले बिहीबार विहान ८ देखि ११ बजेसम्म रामशाहपथस्थित जिल्ला सरकारी वकिल कार्यालयमा बयान दिएका छन्। जसमा उनले बाँसबारी छालाजुत्ता कारखाना सञ्चालक समितिको निर्णय अनुसार नै उक्त जग्गा तत्कालिन च्याम्पियन फुटवेयर प्रालि (हालको सीजी चाँदबाग रेसिडेन्सी) को नाममा आएको बयान दिएका सरकारी वकिल कार्यालय स्रोतले बतायो ।
चौधरीको बयान उधृत गर्दै स्रोतले भन्यो, ‘कानुन बमोजिम बाहेक केही पनि गडबड गरिएको छैन । सरकारको सञ्चालक समितिले निर्णय गरेकाले कानुनसम्मत ढंगले जग्गा खरिद गरिएको हो ।’बयानका क्रममा चौधरीलाई जग्गा फिर्ता प्रक्रिया अघि बढाए मुद्दा नचल्ने भनिएको थियो । तर चौधरीले भने आफ्नो तर्फबाट कुनै गल्ती नभएकाले कानुन बमोजिम भोग्न तयार रहेको बयान दिएका स्रोतको भनाइ छ ।
चौधरीका भिनाजुसँग पनि बयान लिएको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले उद्योगी विनोद चौधरीका भिनाजु महेश अग्रवाल र भाइ वसन्त चौधरीकी पत्नी शीलासँग पनि बयान लिएको छ ।‘मूल मुद्धालाई सपोर्ट गर्न घटना विवरण कागज गराइन्छ । उक्त जग्गाका बारेमा उहाँहरु पनि जानकार हुने भएकाले घटना विवरण कागज गराइएको हो’, सीआईबी स्रोतले भन्यो । यसअ३ि सीआईबीले बुधबार विनोदका भाइ वसन्तसँग बयान लिएको थियो ।
चक्रपथस्थित बाँसबारी छालाजुत्ताको करिब १० रोपनी जग्गा हाल सीजी चाँदबाग रेसिडेन्सीको नाममा छ । बाँसबारी छालाजुत्ताको जग्गा पहिले च्याम्पियन फुटवेयरको नाममा ल्याइएको थियो । त्यसपछि उक्त फुटवेयर बन्द भएपछि त्यसको सम्पत्ति सीजी चाँदबाग रेसिडेन्सीको नाममा सारिएको थियो ।
यही प्रकरणमा १८ माघमा सीआईबीले विनोदका अर्का भाइ तथा सीजी चाँदबाग रेसिडेन्सीका सञ्चालक अरुण चौधरी, अध्यक्ष सञ्जय ठाकुर र बाँसबारी छालाजुत्ता कारखानाका तत्कालिन कार्यकारी प्रमुख अजितनारायण सिंह थापालाई पक्राउ गरेर बयान लिएको थियो । उनीहरु अदालतको आदेशमा २४ माघमा रिहा भएका थिए ।
च्याम्पियन फुटवेयरमा लुनकरणदास चौधरीको २ हजार १ सय कित्ता शेयर थियो भने विनोदकुमार चौधरी, वसन्त चौधरी, अरुणकुमार चौधरी र महेशकुमार अग्रवालको समान २–२ सय कित्ता शेयर थियो । गंगा चौधरीको नाममा १ सय कित्ता शेयर थियो । बाँसबारी छाला तथा जुत्ताको नाममा २ हजार कित्ता शेयर थियो ।
अहिले सीजी चाँदबाग रेसिडेन्सी प्रालिमा सञ्जय ठाकुर अध्यक्ष र सेयरधनीमा अरुण चौधरी र उनकी पत्नी छन् । अहिले जग्गाको स्वामित्व विनोद चौधरीको नाममा नभए पनि बाँसबारी छालाजुत्ताको जग्गा निजी कम्पनीमा ल्याउने क्रममा उनको संलग्नता देखिने भएकाले बयान लिइएको सीआईबीको भनाइ छ ।सरकारी जग्गा व्यक्तिको नाममा ल्याउने प्रकरणमा मालपोतका कर्मचारी पनि दोषी हुन सक्ने भन्दै सीआईबीले मालपोतका कर्मचारीमाथि पनि अनुसन्धान अघि बढाएको छ । तर अहिलेसम्म एक जनासँग पनि सोधपुछ र बयान नलिइएको सीआईबीका प्रवक्ता तथा एसपी होविन्द्र बोगटीले बताए ।
‘अहिलेसम्मको अनुसन्धानले मालापोतका कर्मचारी पनि अनुसन्धानको दायरामा ल्याउनुपर्ने देखिएको छ । तर पुरानो घटना भएकाले केहीको निधन भइसकेको, केहीलाई भने सम्पर्क गर्ने प्रयास भइरहेको छ’ प्रवक्ता बोगटीले भने ।यो प्रकरणमा सीआईबीले बाँसबारी छालाजुत्ता कारखाना लिमिटेडको सञ्चालक समितिका चार जनाको बयान लिने तयारी गरेको छ । तर चारै जना भने फरार रहेको खुलेको छ ।फरार हुनेहरुमा तत्कालीन सञ्चालक समितिका सदस्यहरु अर्थ र उद्योग मन्त्रालयका कर्मचारी र उद्योग विभागका कर्मचारीहरु रहेको सीआईबी स्रोतले जनाएको छ ।