डडेल्धुरा । नेकपा एमाले डडेल्धुराको अध्यक्षमा गजेन्द्र शाही सर्वसम्मत चयन भएका छन्। एमाले डडेल्धुरा संयोजक रहेका शाही नवौं जिल्ला अधिवेशनबाट अध्यक्षमा सर्वसम्मत चयन भएका हुन्।
शाहीलाई सर्वसम्मत अध्यक्ष चयन गरिएको छ । उपाध्यक्ष दुर्गा गिरी, सचिव शिद्धराज भट्ट, उपसचिव प्रकाश बोहरा र समावेशी उपसचिवमा इन्द्रा ताम्राकार चयन भएको स्रोतले बताएको छ । अध्यक्ष शाही गन्यापधुरा गाउँपालिका-३ सकायलका हुन्। शाहीले २०५३ सालमा अनेरास्ववियुको जिल्ला कमिटी उपसचिव हुँदै राजनीति सुरु गरेका हुन्।
उनी त्यसपछि जिल्ला सचिव हुँदै ०५९ मा तत्कालीन प्रजातान्त्रिक राष्ट्रिय युवा संघको सहसंयोजक र ०६३ मा जिल्ला अध्यक्ष बनेका थिए। उनी ०६५ मा एमाले डडेल्धुराको जिल्ला कमिटी सदस्य भएका थिए।युवा संघ नेपालको केन्द्रीय सचिवालय सदस्य हुँदै केन्द्रीय उपाध्यक्ष समेत बनेका उनले सोही समयमा सुदूरपश्चिम प्रदेश र लुम्बेनी प्रदेश इन्चार्जको जिम्मेवारी समेत सम्मालेका थिए।