डडेल्धुरा। नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले काँग्रेस सभापति शेरबहादुर देउवाले डडेल्धुराको विकासका लागि केही काम गर्न नसकेको बताएका छन ।
आज (सोमबार) परशुराम नगरपालिकाको रंगमैदान जोगबुढामा एमाले डडेल्धुराको नवौं जिल्ला अधिवेशन उद्घाटन गर्न पुगेका ओलीले सो कुरा बताए। देउवाले चुनावका बेला खुलेआम पैसा बाँड्ने गरेको र त्या कारण चुनाव जित्ने गरेको ओलीले आरोप लगाए। ‘नेकपा एमाले यहाँ दुई कारणले हार्छ। एउटा शेरबहादुर जीले जित्ने तरिका उहाँ खुलेआम पैसा बाँड्नुहुन्छ। टेलिभिजनले खुलेआम देखाएको हुन्छ,’ उनले भने, ‘सक्ताको दुरुपयोग गरेको हुन्छ। त्योभन्दा बढी के भनम्।’
त्यसैमा थप्दै उनले भने, ‘सागर भन्ने एउटा बावु आएका थिए। तिनलाई समर्थन गर्न देखेको थिए, मिस पवि भन्ने। मिस पविले जोड गरेकै हुन्। विचारा एउटी मिस पवि के गरून्।’ उनले डडेल्धुरामा एमालेको उम्मेदवार नउठेपछि जित्ने कुरा नभएको बताए। उनले अब नेकपा एमाले डडेल्धुराले कसैलाई सघाउन जानेभन्दा पनि एक्लै लड्ने जित्ने कार्य गर्ने जिकिर गरे। ‘रोष्टमबाट मैले मेरा मित्र शेरबहादुर जीलाई सोधे, ‘शेरबहादुरजी पाँचपटक प्रधानमन्त्री हुँदा देशका लागि गरेको एउटा राम्रो काम बताउनुस् त?’ तर, उहाँले जवाफ फर्काउन सक्नु भएन,’ अध्यक्ष ओलीले भने, ‘काँग्रेसका नेता सत्ताजीवी, चिरञ्जीवी र बुढेसकालसम्म नेतृत्व पाइरहुन।’
उनले आफू प्रधानमन्त्री हुँदा देशमा धेरै राम्रो काम भएको दाबी गरे। पुरानो गठबन्धनले देशको आर्थिक अवस्था कमजोर भएको उनको जिकिर छ। प्रधानमन्त्री हुँदा देशभर तीन सय ९६ अस्पतालको शिलान्यास गरेको स्मरण गर्दै उनले परशुराममा अस्पताल भएको कारण नपरेको र आलितालमा परेको बताए। ‘शेरबहादुरजी मेरो पुरानो मित्र।
पुरानो मित्रको गाउँपालिकामा पनि एउटा अस्पताल बनाउ भनेर राखेको थिए। केपी ओलीले हालेको कार्यक्रम भनेर हटाइदिनु भयो,’ उनले भने, ‘त्यहाँको अस्पतालमा म सिटामोल ल्याउन जाने होइन नी त्यहाँका जनताले उपचार पाउँथे। अब गन्यापधुरामा एउटा अस्पताल बनाउँछु। यो कुरा शेरबहादुरजीले सुन्नुहुन्छ।’उनले किसान सहिद भीमदत्त पन्तको हत्या काँग्रेसले गरेको दाबीसमेत गरे। ‘शेरबहादुर देउवाले आफ्नै गाउँमा अस्पताल बनाउने घोषणा समेत कार्यान्वयन गर्नुभएन’ ओलीले भने । ‘डडेल्धुराका जनताले राखेको माग एमालेले पूरा गर्छ ।’ओलीले डडेल्धुराको विकासको लागि अब नेकपा एमालेले काम गर्ने बताएका छन् ।