काठमाडौं। नेपाल प्रहरीले सर्वोच्च अदालत परिसरबाट अत्याधुनिक हतियारसहित आज एकजनालाई पक्राउ गरेको छ। झापा बुद्धशान्ति गाउँपालिका–३ का दीपक खड्का रहेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता तथा प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए ।
पक्राउ परेका खड्का मेडिकल व्यवसायी दुर्गा प्रसाईंका अंगरक्षक रहेको बुझिएको छ। निजी सुरक्षा गार्डको साथबाट एउटा बन्दुक र १०० राउण्ड गोली बरामद गरेको छ। उनले भने, ‘अत्याधुनिक हतियार लिएर अदालत प्रवेश गर्ने क्रममा त्यहाँ सुरक्षार्थ खटिएका प्रहरीले नियन्त्रणमा लिएर हामीलाई बुझाएको छ,उक्त विषयमा अनुसन्धान भइरहेको छ ।’
यस्तै उनीसँगै प्रहरीले राजकुमार धिमाललाई पनि पक्राउ गरेको छ। खड्काको साथबाट जीएसजी ५ जर्मन सेमि अटोमेटेड हतियार बरामद भएको अधिकारीले जानकारी दिए। यस्तै त्यसमा लाग्ने १०० थान गोली बरामद भएको उनको भनाइ छ। सोमबार सर्वोच्च अदालतमा दुर्गा प्रसाईंसँग सम्बन्धित मुद्दामा सुनुवाइ भइरहेको छ। खड्का दुर्गा प्रसाईंको सुरक्षा गार्डका रुपमा काम गर्दै आएका व्यक्ति हुन्।