पोखरा। गण्डकीमा प्रदेशसभा सदस्य दीपक मनाङेले मन्त्री पदको शपथ लिएका छन् । सोमबार उनलाई प्रदेश प्रमुख डिल्लीराज भट्टले पद तथा गोपनीयताको शपथ लिएका हुन् । उनी गण्डकीको भौतिक पूर्वाधार तथा यातायात मन्त्री बनेका छन् ।
केन्द्रमा एमाले र माओवादी केन्द्रको गठबन्धन बने पनि गण्डकीमा नेपाली कांग्रेसले प्रदेशसभामा आफैं बहुमत पुर्याउने गरी तयारी गरिरहेको छ । त्यसकै सिलसिलामा मनाङबाट स्वतन्त्र रुपमा जितेका दीपक मनाङेलाई मन्त्री बनाएका हुन् । चुनाव जितेपछि एकीकृत समाजवादीमा प्रवेश गरेका मनाङेले सोमबार मात्र पार्टी छाडेको घोषणा गरेका थिए ।
उनले आइतबार मात्र आफूलाई स्वतन्त्र सांसदको हैसियत प्रदान गर्न संसद सचिवालय गण्डकीमा निवेदन दिएका थिए। संघीय सरकारमा एमाले–माओवादी गठबन्धन बनेपछि कांग्रेस संसदीय दल नेता पाण्डेको नेतृत्वमा रहेको प्रदेश सरकार अल्पमतमा थियो । गण्डकी प्रदेश सभामा कांग्रेसको २७, एमालेको २२, माओवादी केन्द्रको सभामुखसहित ८, राप्रपाको २ स्वतन्त्र चुनाव जितेर एकिकृत समाजवादी प्रवेश गरेका मनाङे गरी ६० जना सदस्य छन्।गण्डकीमा सरकार बनाउन कम्तिमा ३१ सांसदको समर्थन चाहिन्छ।