कैलाली। कैलालीको कर्णाली पुल मर्मत भएपछि आजदेखी यातायात सुचारु गरिएको छ। पूर्वपश्चिम राजमार्गअन्तर्गत पर्ने कर्णाली चिसापानी पुल अघिल्लो सोमबार वीरगन्जबाट लाइटर बोकेर कञ्चनपुर जाँदै गरेको बा.५प ५२९७ नम्बरको ट्रकमा आगलागीले क्षति हुँदा यातायात सञ्चालन बन्द गरिएको थियो।
आगलागीले पुलका दुवैतिरका गरी करिब १४ लट्ठामा क्षति पुगेको थियो । त्यसपछि बन्द रहेको पुल आज सोमबारबाट सुचारु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ। केहि समय एकतर्फी मात्रै यातायात सञ्चालन हुनेछन्।
केही दिन त्यसको अवस्था हेरेर विज्ञको सुझाव पछि दुई तर्फी यातायात चलाइने जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक कुलदीप चन्दले जानकारी दिए । पुलमा भएको क्षति अध्ययनका लागि सडक विभागको प्राविधिक टोली मङ्गलवारदेखि खटिएको थियो । उनीहरूकै सुझावमा आजबाट एकतर्फी यातायात सुरु गरिएको छ।