कैलाली। नागरिक उन्मुक्ति पार्टी सुदूरपश्चिम संसदीय दलको बैठक आज बस्ने भएको छ । दिउँसो २ बजे संसदीय दलको कार्यालयमा बैठक आह्वान गरिएको संसदीय दलका नेता तथा आर्थिक मामिला मन्त्री घनश्याम चौधरीले जानकारी दिए ।
उनले सुदूरपश्चिम प्रदेश सरकारका विषयमा बैठकमा छलफल हुने जानकारी दिए । अहिले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाह अल्पमतमा परेका छन् । माओवादी र नेकपा एकीकृत समाजवादी पार्टीले समर्थन फिर्ता लिएको प्रदेश सरकारलाई नागरिक उन्मुक्ति पार्टीले अहिले सम्म काँध थापेको छ । अहिले प्रदेश सरकारमा नाउपाका सात सांसद मध्ये पाँच जना मन्त्री छन् ।
केन्द्रमा नागरिक उन्मुक्ति पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएपछि प्रदेशमा कांग्रेस नेतृत्वको सरकार धर्मराएको हो । तर, अहिले सम्म पनि प्रदेशमा कांग्रेस नेतृत्वको सरकारबाट नाउपाले समर्थन फिर्ता लिएको छैन । आज समर्थन कायम राख्ने वा फिर्ता लिने भन्ने विषयमा निर्णय हुने नाउपाका नेताहरूले दाबी गरेका छन् । ५२ जना प्रदेश सभा सदस्य रहेको सुदूरपश्चिममा बहुमतको सरकार बनाउन २७ सांसद आवश्यक पर्छ । यहाँ कांग्रेसका १८ र नाउपाका ७ सांसद छन् । यी दुई दल मिल्दा पनि सुदूरपश्चिम प्रदेशमा राप्रपाका १ र स्वतन्त्र १ सांसद निर्णायक हुन्छन् ।