विराटनगर। उदयपुरमा भएको सवारी दुर्घटनामा मृत्यु हुनेको संख्या ८ पुगेको छ । उदयपुरको बेलका नगरपालिका– ७ मेनामैनीमा बोलेर गाडी बिहीबार बिहान दुर्घटना भएको थियो । दुर्घटनामा परी सात जनाको घटनास्थलमै र एक जनाको उपचारका क्रममा मृत्यु भएको हो । दुर्घटनामा ९ जना घाईते भएको प्रहरीले बताएको छ ।
सुनसरीको धरानबाट भोजपुरको घोडेटार तर्फ जाँदै गरेको को १ ज २५९३ नम्बरको बोलेरो आज बिहान ११ बजेको समयमा मैनामैनीमा सडकबाट अन्दाजी ४०० मिटर तल खसेको थियो । दुर्घटनामा बोलेरोमा सवार रहेका ७ जनाको घटनास्थलमा र १ जनाको उपचारको क्रममा धरानको वीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा मृत्यु भएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।
प्रहरीका अनुसार हतुवागढी गाउँपालिका-२ का ४० वर्षीय सवारी चालक मानबहादुर बस्नेत, गाडीमा सवार हतुवागढी गाउँपालिका-२ की ७० वर्षीया पर्वतमाया राई, २३ वर्षीय चन्द्रप्रकाश राई, चन्द्रप्रकाश राईको ६ महिनाको छोरा डिसाङ राई, हतुवागढी गाउँपालिका– ९ का ६८ वर्षीय पदम बहादुर थापा, हतुवागढी गाउँपालिका-५ की ३० वर्षीया रामकुमारी राई, र सुनसरीको इटहरीका ४५ वर्षीय कमल अधिकरीको घटनास्थलमा मृत्यु भएको थियो । हतुवागढी गाउँपालिका-५ का ४२ वर्षीय किसान राईको धरानको बि।पि।कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको हो ।
दुर्घटनामा परी मोरङको कानेपोखरी गाउँपालिका-५ का ३७ वर्षीय बिशेष पराजुली, आमचोक गाउँपालिका-६ भोजपुरकी २० वर्षीया मिनु राई, सोही स्थानकी ३६ वर्षीया साबित्रा राई, हतुवागढी गाउँपालिका-२ की ३२ वर्षीया शान्ति राई, हतुवागढी गाउँपालिका-१ का १७ वर्षीय सुनिल परियार, सोही स्थानकी १७ वर्षीया सबिना परियार, ईटहरी-१७ सुनसरीकी ३४ वर्षीया गायित्री कट्वाल, उनकी ८ बर्षकी छोरी निकिता कट्वाल र ईटहरी-१७ की २९ वर्षीया रमा थापाको बि।पी।कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरान घोपामा उपचार भइरहेको छ ।