धनगढी। कैलालीको चिसापानीस्थित कर्णाली पुल सञ्चालनमा आउन अझै तीन दिन लाग्ने भएको छ। सोमवार दिउँसो वीरगञ्जबाट महेन्द्रनगरतर्फ आइरहेको ना ५ ख ५२९७ नम्बरको ट्रकमा एक्कासी आगलागी हुँदा पुलमा समेत क्षती भएको थियो ।
सडक विभागअन्तर्गत पुल महाशाखाको प्राविधिक टोलीले कैलालीको चिसापानीस्थित कर्णाली पुलमा आगलागीबाट भएको क्षतिबारे अध्ययन गरिरहेको छ । क्षतिग्रस्त भएका वस्तुको नमुना लिएर टोलीले ल्याबमा परीक्षण गर्दै छ । पुलबाट आवागमन नियमित अझै कम्तीमा तीन दिन लाग्ने टोलीले बताएको छ ।
पुलको सतह र लठ्ठाको तारमा भएको क्षति तथा सवारीसाधन सञ्चालनका लागि गर्नुपर्ने मर्मतसम्भारबारे अध्ययन भइरहेको पुल महाशाखाका सिनियर डिभिजनल इन्जिनियर कृष्णराज अधिकारीले जानकारी दिए । आगलागीबाट पुलको दुवैतर्फका सात–सातवटा लठ्ठाको तार तथा पुलको सतहमा क्षति पुगेको उनले बताए ।‘पुलको मुख्य लठ्ठाको तार जलेको छ, नमुना लिएका छौँ, तारमा कति क्षति पुग्यो भनेर परीक्षण गरेपछि थाहा होला,’ उनले भने, ‘हामीले सबै रिपोर्ट संकलन गरेका छौँ, रिपोर्टको विश्लेषण र परीक्षण गरेपछि आगलागीबाट पुलमा पुगेको क्षति र त्यसले पुललाई गर्ने असरबारे थाहा होला ।’
वीरगन्जबाट लाइटर बोकेर कञ्चनपुर जाँदै गरेको ट्रकमा कर्णाली पुलमा सोमबार दिउँसो आगलागी भएको थियो ।गुडिरहेको ट्रकमा आगलागी भएर क्षति पुगेपछि पुलमा यातायातका साधन सञ्चालनमा रोक लगाइएको छ । आगलागीले क्षतिग्रस्त पुलको सतह मर्मत गर्नुपर्ने भएकाले पुलमा यातायात सञ्चालन गर्न केही समय लाग्ने इन्जिनियर अधिकारीले बताए । यातायात नियमित गर्न कम्तीमा तीन दिन लाग्ने उनको भनाइ छ ।‘सतह मर्मतको काम भोलिबाटै सुरु हुन्छ, मर्मत गर्न तीन दिनजति लाग्ला,’ उनले भने, ‘त्यतिन्जेल रिपोर्ट तयार गरिसक्छौँ ।’
केन्द्रमा विज्ञसँग बसेर नमुनाको विश्लेषण र छलफल गरिने क्षतिको अध्ययनका लागि आएका प्राविधिकले बताएका छन् । ट्रकमा लागेको आगो करिब चार घण्टापछि नियन्त्रणमा लिइएको थियो । आगलागीबाट ट्रक र त्यसमा रहेका एक हजार एक सय कार्टुन लाइटर जलेर नष्ट भएका छन् ।पुलमा यातायात बन्द गरिएपछि अहिले पूर्व–पश्चिम राजमार्गमा चल्ने सवारीसाधन हुलाकी राजमार्गअन्तर्गत टीकापुर–नेपालगन्जको वैकल्पिक मार्ग प्रयोग गरिरहेका छन् । एउटै खम्बामा अडिएको निकै आकर्षक देखिने कर्णाली पुल सन् १९९३ मा निर्माण गरिएको थियो । पुल हेर्नकै लागि चिसापानीमा बर्सेनि थुप्रै पर्यटक पुग्ने गर्छन् । तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले २८ मंसिर ०५० मा पुलको उद्घाटन गरेका थिए ।