काठमाडौं। जनमत पार्टीका अध्यक्ष सीके राउतले संसदमा प्रधानमन्त्रीले मागेको विश्वासको मतमाथि छलफल गर्नुको अर्थ नभएको बताए ।
बुधबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभामा राखेको विश्वासको मतसम्बन्धी प्रस्तावको विपक्षमा धारणा राख्दै उनले नेपालको राजनीतिमा धोकाको शृङ्खला चलिरहेको बताए ।विश्वासको मतसम्बन्धी प्रस्तावमा छलफलमा घण्टौं समय बिताउनुभन्दा गायिका एलिना चौहानले गाएको ‘धोकेबाज हौ तिमी’ भन्ने गीत बजाइदिए पुग्ने राउतले बताए ।
‘प्रधानमन्त्रीले विश्वासको मत माग्दाखेरि त्यसमा मत दिने कि नदिने विषयमा यहाँ जम्मा भएका छौं । सोही क्रममा हामीले सबै दलका कुरा सुन्यौं, घण्टौंसम्म कुरा सुन्दाखेरि लाग्छ, बरु एलिना चौहानको गीत गाइदिँदा संक्षिप्त हुन्थ्यो, लामो फेहरिस्त दिनै पर्दैनथ्यो’, उनले भने ।
पटक पटक गठबन्धन बन्ने र भत्किने क्रम चलिरहेको भन्दै राउतले यसबाट जनताले के पाए भन्ने प्रश्न गरे । ‘संसदमा यो बहसबाट जनताले के पाइरहेका छन् ?’, उनले प्रश्न गरे ।अब निर्वाचनअघि गठबन्धन गर्न नपाइने कानुनी व्यवस्था गर्नुपर्ने भन्दै राउतले नभए प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको व्यवस्था गर्नुपर्ने बताए । ‘जनताले दिएको विश्वासको मत हामीले बचाउन सकेका छैनौं । कहिले यता हाल्नुपरेको छ, कहिले उता हाल्नुपरेको छ । बरु विश्वासको मत जनताकै हातमा सुम्पौं । जनताबाट प्रत्यक्ष प्रधानमन्त्री ल्याउने व्यवस्था गरौं’, उनले भने।