कैलाली। कैलालीको कर्णाली पुलमा गुड्दै गरेको ट्रकमाथि आगलागी भई पुलमा समेत क्षती पुगेको छ। सोमबार पूर्व (वीरगञ्ज)बाट पश्चिमतर्फ आउँदै गरेको ना ५ ख ५२९७ नम्बरको ट्रकमा एक्कासि आगलागी हुँदा ट्रक पूर्ण रूपमा जलेर नष्ट भई पुलको पूर्वपट्टी रहेका १४ वटा डोरी(लट्ठा) मा क्षति पुगेको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय चिसापानीका प्रहरी निरीक्षक हरिराम डाँगीले आगलागीबाट एक करोड १५ लाख ६८ हजार रुपैयाँ बराबरको ट्रकमा रहेको एक हजार एक सय कार्टुन लाइटर र नगद ५७ हजार रुपैयाँ क्षति भएको जानकारी दिए। भने ट्रकमा लागेको आगोले लठ्ठामा क्षति पुगेपछि सुदूरपश्चिम प्रदेशलाई अन्य प्रदेशसँग जोड्ने कर्णाली पुल बन्द भएको छ।
आगलागीले पुलमा पुगेको क्षतिबारे विज्ञ टोलीबाट अध्ययन भइरहेको सडक विभागले जनाएको छ । विभागका उपमहानिर्देशक तथा प्रवक्ता रामहरि पोखरेलका अनुसार अहिले विज्ञ टोली पुल पुगेको छ । टोलीले बुधबारसम्म प्रारम्भिक प्रतिवेदन बुझाउने छ । ‘आगलागीबाट पुलमा कति क्षति भएको छ, त्यो कति जोखिमपूर्ण हो भन्नेबारे विज्ञ टोलीले अध्ययन गरिरहेको र त्यसपछि हामीले निर्णय गर्ने पोखरेलले बताए ।
अहिले कर्णाली पुलमा आवतजावत बन्द गरिएको छ । यसलाई विभागले गम्भीरता साथ लिएर अध्ययन गरिरहेको समेत उनले बताए। गम्भीरताका साथ अध्ययन गरिरहेकाले छिट्टै अध्ययन सकाएर प्रतिवेदन आउने उनले बताए ।ट्रकमा आगलागी भएपछि चालकले ट्रक पुलमाथि नै छाडेर भाग्दा आगोले पुलमा क्षति गरेको हो। आगो नियन्त्रणमा लिन चार घण्टा लागेको थियो। ग्यास लाइटर बोकेको ट्रकसमेत जलेर नष्ट भएको छ । एकमात्र खम्बाको भरमा अडिएको यो पुल नमुना पुलका रूपमा चर्चित छ ।
खम्बासँग लठ्ठाको सहायतामा पुल अड्याइएको यो नमुना पुलका लठ्ठामा आगलागीबाट क्षति पुग्दा पुलको समग्र भौतिक संरचनामा असर पर्ने भएकाले विभागले विज्ञ टोली पठाएर अध्ययन गर्न लागेको हो । सडक विभिजन कार्यालय नेपालगञ्जको टिमसमेत सोमबार नै घटनास्थल पुगेर अवलोकन गरेको थियो ।सडक विभागका प्रवक्ता पोखरेलका अनुसार कर्णाली पुलबाट सवारी आवागमन अवरुद्ध भएसँगै वैकल्पिक मार्ग प्रयोग गरी यातायात व्यवस्थापन गरिएको छ ।
सदूरपश्चिमबाट पूर्वतर्फ जाने र काठमाडौंसहित पूर्वबाट सुदूरपश्चिम जाने सवारी साधनलाई कैलालीको सत्ति पुलबाट आवतजावत गर्न सकिने गरी यातायात व्यवस्थापन मिलाइएको उनले जानकारी दिए । जापानी कम्पनीले सन् १९९३ मा कर्णाली पुल निर्माण सम्पन्न गरेको थियो । यो पुल ५ सय मिटर लामो छ । बीचमा ठडिएको अग्लो खम्बामा दुवैतर्फ स्टिलका लठ्ठाले बाँधेर पुल निर्माण गरिएको छ । नमुना डिजाइनका कारण यो पुल यातायात मात्र नभई पर्यटकका बीचमा समेत उत्तिकै लोकप्रिय छ। कर्णाली पुल बनेसँगै चिसापानी बजारको विकाससँगै पर्यटन प्रर्बधनमा टेवा पुगेको छ । यात्रु तथा सर्बसाधारण घुम्ने, सवारीसाधन रोकेर सेल्फी लिने, यहाँ कर्णाली नदीमा मारिएका माछा खान, पौडी खेल्न र र्याफ्टिङ गर्न त्यहाँ पुग्ने गरेका छन् ।