धनगढी। सुदूरपश्चिम सरकारमा मुख्यमन्त्री कमलबहादुर शाहले नागरिक उन्मुक्ति पार्टीका नेताहरुलाई मन्त्रिपरिषदमा सहभागी गराउने तयारी गरेका छन्।
नाउपा स्रोतकाअनुसार आज दिउँसो सोमबार प्रदेशसभा सदस्य लक्ष्मणकिशोर चौधरीलाई सामाजिक विकास मन्त्री नियुक्त गर्ने तयारी छ। नाउपा अध्यक्ष रञ्जिता चौधरी निकट उनले प्रदेश प्रमुख देवराज जोशीबाट पद तथा गोपनीयाको शपथ लिने स्रोतको भनाइ छ ।
मुख्यमन्त्री शाहले यसअघि शुक्रबार नाउपा संसदीय दलका नेता घनश्याम चौधरीलाई आर्थिक मामिला मन्त्री, खुशीराम चौधरीलाई विना विभागीय मन्त्री र इन्दिरा गिरीलाई कृषि राज्यमन्त्री नियुक्त गरेका थिए । नाउपाबाट रामेश्वर चौधरी यसअघि नै भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री छन् । लक्ष्मणकिशोर चौधरी मन्त्री बनेपछि सुदूरपश्चिम सरकारमा नाउपाका मन्त्रीको संख्या ५ पुग्नेछ ।
२१ फागुनमा केन्द्रमा एमाले(माओवादीसहितको गठबन्धन सरकार बनेपछि मुख्यमन्त्री शाहले माओवादी केन्द्रका मन्त्रीहरु बर्खास्त गरे भने त्यसको केही दिनमा एकीकृत समाजवादीले पनि सरकार छाडेको छ । आफूलाई समर्थन दिएको दुई दलले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री शाहले आफ्नो पक्षमा बहुमत पुर्याउन सरकारमै रहेको नागरिक उन्मुक्ति पार्टीलाई थप मन्त्रालय दिएका हुन् । नाउपाका सांसदलाई एकपछि अर्को मन्त्री नियुक्त गरिरहेका शाहले मन्त्रालय फुटाएर भएपनि जोशी र विष्टलाई पनि मन्त्री बनाउने आश्वासन दिएका छन् । दुवै जना सरकारमा आए मात्र शाहलाई बहुमत पुग्छ ।