बझाङ। नेकपा एमालेले आगामी वैशाख १५ गते बझाङ प्रदेश सभा निर्वाचन क्षेत्र नं १ को लागि हुने उपनिर्वाचनमा उम्मेदवारको नाम सिफारिस गरेको छ। नेकपा एमाले उपनिर्वाचनका लागि तीन जनाको नाम सिफारिस गरेको हो।
उम्मेदवारको लागि छ जना आकांक्षी रहेका थिए । निर्वाचन क्षेत्रिय समन्वय कमिटीमा मतदान हुँदा बढी मत पाउने दमन भण्डारी, जुना जाग्री र राधा विस्टको नाम प्रदेश कमिटीलाई सिफारिस गरिएको एमाले बझाङ जिल्ला कमिटीका सचिव आनन्द विकले बताए ।
मतदानमा भण्डारीले ९४, जाग्रीले ६८ र विस्टले ६१ मत प्राप्त गरेका थिए । यस अघिको प्रदेश सभा निर्वाचनमा उम्मेदवार रहेका अफिलाल ओखेडाले ६० मत प्राप्त गरेका छन । अन्य उम्मेदवारका आकांक्षीहरू गोकुल सिंहले २८, प्रयागराज जोशीले १३ मत प्राप्त गरेको र ९ मत बदर भएको निर्वाचन कमिटीले जनाएको छ ।
गत निर्वाचनमा नेपाली काँग्रेसका उम्मेदवार पृथ्वीबहादुर सिंहसँग पराजित अफिलाल ओखेडा प्रदेश सभा उपनिर्वाचनको लागि बलियो दाबेदारको रुपमा रहेका थिए । आन्तरिक निर्वाचनमा कम मत प्राप्त गरेपछि उनको टिकट पाउने सम्भावना कम रहेको सचिव आनन्द विकले बताए । ‘प्रदेश वा केन्द्रले कुनै निर्णय गरे अर्कै कुरा हो। जिल्लाबाट उनको नाम सिफारिसमा नपरेको उनले बताए ।
बझाङ प्रदेश सभा निर्वाचन क्षेत्र नं १, बाट निर्वाचित नेपाली काँग्रेसका पृथ्वीबहादुर सिंहको सवारी दुर्घटनामा निधन भएको थियो। सुदूरपश्चिम सरकारको आन्तरिक मामिलामन्त्री भएको बेला गृहजिल्ला जाँँदै गर्दा गत असारमा उनी सवार गाडी दुर्घटना भएको थियो। उनको ठाउँमा पदरिक्त भएपछि उपनिर्वाचन हुन लागेको छ।