धनगढी । नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक बेइमानी गरेको बताएको छ। बिहीबार संसद भवनस्थित ल्होत्से हलमा बसेको पार्टीको संसदीय दलको बैठकले प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक बेइमानी गरेको ठहर गर्दै सरकारलाई दिएको समर्थन फिर्ता लिएको हो।
बैठकले नेपाली कांग्रेस सदैव गठबन्धनकाप्रति इमान्दार रहेको दाबी समेत गरेको छ। बैठकका निर्णय सुनाउँदै कांग्रेस प्रमुख सचेतक रमेश लेखकले गठबन्धनका मूल्य, मान्यता, गठबन्धनमा रहँदा हाम्रोबीचमा भएका सहमतिलाई अक्षरशः पालना गर्नेगरी कांग्रेस प्रस्तु हुँदासमेत प्रधानमन्त्री दाहालले कांग्रेसलाई विश्वासघात गरी गठबन्धनमाथि बेइमानी गरेको कांग्रेसको ठहर गरेको बताए।
उनले प्रधानमन्त्रीले गठबन्धन भत्काउनुपरेको कारणहरु काल्पनिक, कपोकल्पित र तथाकथित रहेको बताए। प्रधानमन्त्री दाहालले कांग्रेससँगको गठबन्धन भत्काएर मुलुकलाई अस्थिरता, अन्योल र अनिश्चिततातिर लैजाने काम गरेको जिकिर कांग्रेसको छ ।
प्रमुख सचेतक लेखकले नेपाली कांग्रेसले अब संघीय संसदमा प्रमुख विपक्षी दलका हैसियतले रचनात्मक प्रतिपक्षको भुमिका निर्वाह गर्ने बताए।
पार्टीले संघीय संसदमा रहेका नेपाली काँग्रेसका सम्पूर्ण सदस्यहरुलाई संसदमा देश र जनताका हीतमा प्रभावकारी रुपले प्रश्तुत हुन र रचनात्मक प्रतिपक्षको भुमिका निर्वाह गर्न निर्देशनसमेत दिएको छ । बैठकमा पछिल्लो समयमा विकसित र परिवर्तित राजनीतिक घटनाका बारेमा पनि छलफल भएको बताए।