धनगढी : कैलालीको गोदावरी नगरपालिकाले गरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताका लागि मात्रै ११ लाख रुपैयाँ खर्च गरेको थियो । नगरपालिकाले प्रशिक्षकका लागी मात्रै ३ लाख ४८ हजार १ सय रुपैयाँ खर्च गरेको छ । नगरले उपलब्ध गराएको प्रशिक्षकको खर्च शीर्षकमा ३ लाख ४८ हजार १ सय उल्लेख भएपनि यकिन खर्च भने २ लाख ८३ हजार ६५० मात्रै भएको छ । प्रतियोगितामा प्रशिक्षकहरूलाई प्रतिदिन १ हजारका दरले भत्ता, २ सय खाजा खर्च र ५ सय रुपैयाँ यातायात वाफत दिइएको जनाइएको छ । कर कट्टा गरेर एक जना प्रशिक्षकलाई प्रतिदिन नगद १ हजार ५५० रुपैयाँ नगरले प्रदान गरेको छ ।
राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सञ्चालनका लागि नगरले छुट्याएको बजेटमा ६४ हजार अनुगमन तथा बैठकमा खर्च भएको देखिएको छ । नगरको शिक्षा शाखाले दिएको विवरण अनुसार निर्देशन समितिको बैठकको भर्पाई र अनुगमनकर्ताको भरपाईमा उक्त रकम खर्च भएको हो । निर्देशन समितिको बैठक भरपाईमा ५० हजार खर्च भएको देखिएको छ भने अनुगमनकर्ताको भरपाईमा १४ हजार रुपैयाँ खर्च गरिएको विवरणमा उल्लेख छ । यस्तै सचिवालय कर्मचारी विद्यालय शीर्षकमा ३० हजार, स्टेसनरी विद्यालयमा ५ हजार, फाराम सङ्कलनमा ४ हजार, सूचना तथा आर्थिक व्यवस्थापनमा ८ हजार, पत्रकार खाजामा ८ हजार र अन्य खाजामा २२ हजार रुपैयाँ खर्च गरेको विवरणमा देखिएको छ । नगरले अन्य शीर्षकमा अस्वाभाविक रुपमा खर्च गरेपनि पुरस्कार राशिमा भने २२ हजार मात्रै खर्च गरेको छ । प्रतियोगितामा उत्कृष्ट हुने तिन वटा विद्यालयहरूलाई पुरस्कार दिइएको बताईएको छ । जसमा प्रथम हुनेले ११ हजार, द्वीतियले ७ हजार र तृतीय हुनेले ४ हजार रुपैयाँ नगद पुरस्कार पाएका छन । प्रतियोगितामा अन्य शीर्षकमा अस्वाभाविक खर्च हुँदा पनि पुरस्कारमा भने धेरै न्यून खर्च भएको देखिएको छ । बैठक र अनुगमनमा मात्रै ६४ हजार खर्च गरेको नगरले पुरस्कार राशीमा न्यून खर्च गरेर नगरले राष्ट्रपति रनिङ शिल्डमा अस्वाभाविक खर्च गरेको हो ।