धनगढी मृत अवस्थामा फेला परेका डोटीका ३० वर्षीय समीर भट्टको हत्या आरोपमा पक्राउ परेका ३ जनालाई थुनामै राखेर अनुसन्धान थाल्न उच्च अदालत दिपालयले आदेश दिएको छ िभट्टको हत्या आरोपमा उनका आफन्तले किटानी जाहेरी दिएपछि प्रहरीले तीन जनालाई पक्राउ गरेको थियो । पक्राउ पर्नेमा दिपायल सिलगढी–५ का राम विष्ट, देवराज विष्ट र लक्ष्मण विष्ट रहेका थिए । यसअघि डोटी जिल्ला अदालतको थुनचेक आदेश उपर तिनै जनालाई थुनामा राखिएको थियो । ति प्रतिवादी तिनै जनाले आफुहरुलाई तारेकमा राखेर अनुसन्धान थालिनुपर्ने भन्दै उच्च अदालत दिपायलमा निवेदन दिएको अदालतका सुचना अधिकारी नरबहादुर नेगीले जानकारी दिए । उनले प्रतिवादीहरुले दिएको ७३ नम्बर निवेदन उपर बिहिबार अन्तिम आदेश भएको बताए ।
उनका अनुसार उक्त निवेदनमा उच्च अदालत दिपायलले डोटी जिल्ला अदालतले गरेको आदेश नै सदर गर्नुपर्ने आदेश दिएको छ । यसअघि डोटी जिल्ला अदालतले पुर्पक्षका लागि कारागारमा राख्ने आदेश दिएको थियो । उच्च अदालत दिपायलले पनि सोही आदेशलाई सदर गरेको हो । गत मंसिर ११ गते शैलेश्वरी जात्राबाट फर्किएर घरतिर गएका दिपायल सिलगढी नगरपालिका–५ पुन्नाका भट्टको शव १२ गते बिहान गाउँ नजिकै सडकको नालीमा भेटिएको थियो ।