धनगढी। सुदुरपश्चिमका स्थानीय तहमा आधारभूत अस्पताल निर्माण योजना अलपत्र अवस्थामा रहेको पाइएको छ। सरकारले स्थानीय तहमा आधारभूत अस्पताल बनाउने भन्दै २०७७ मंसिर १५ गते देशका ३ सय ९६ स्थानीय तहमा एकै दिन शिलान्यास गरिएपनी योजना कार्यक्रम अघि नबढ्दा निर्माण कार्य अलपत्र परेको पाइएको हो।
जस अनुसार सुदुरपश्चिम प्रदेशका ५४ ओटा अस्पताल बनाइने योजना थियो । स्थानीय तहमा आधारभूत अस्पताल निर्माण कार्यक्रम तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले अस्पतालहरूको शिलान्यास गरेका थिए । एकसाथ शिलान्यास गरिएका ५४ आधारभूत अस्पतालमध्ये एउटा बनिसकेको छैन । जस अनुसार १० शैय्याका ३१ ओटा अस्पताल र १५ शैय्याका २३ ओटा गरी ५४ ओटा आधारभूत अस्पताल निर्माण योजना अलपत्र अवस्थामा रहेका हुन्।
यस्तै डोटीको सायल गाउँपालिकास्थित डौड स्वास्थ्य चौकी भवनको निर्माण प्रक्रियासमेत सुरु हुन नसकेको प्रदेश स्वास्थ्य निर्देशनालयका जनस्वास्थ्य निरीक्षक धर्मराज उपाध्यायले बताए । सायल गाउँपालिकाका अध्यक्ष धर्मराज जोशीका अनुसार निर्माण कम्पनीले काम नै सुरु नगरेको बताए । ‘टीडीआर कन्स्ट्रक्सन प्रालिका सञ्चालक गोकर्ण शाहले स्वास्थ्य चौकीमा १० शय्या आधारभूत अस्पताल निर्माणको सम्झौताअनुसार ८४ लाख पेस्कीसमेत लिए पनि काम सुरु गरेका छैनन्,’ अध्यक्ष जोशीले भने, ‘जति फोन गरे पनि कुरै सुन्दैनन् ।
ताकेता गर्दै अन्तिम पटक भनेर गाउँपालिकाकातर्फबाट पत्राचारसमेत गरिएको छ ।’ गाउँपालिकाले फिल्ड क्लियर नगरेकाले निर्माण कार्यमा ढिलाइ भएको ठेकेदार कम्पनीका सञ्चालक शाहले बताए । बैतडी जिल्ला सहित अन्य जिल्लामा यस्तै अवस्था रहेको पाइएको छ । जसअनुरूप बैतडीका ७ वटा स्थानीय तहमा पनि आधारभूत अस्पताल बनाउने योजना थियो । बैतडीको दोगडाकेदार गाउँपालिका–६ मजगाउँमा अस्पताल निर्माणका लागि सम्याइएको जग्गामा पनी आधारभूत अस्पताल निर्माण योजना अलपत्र अवस्थामा परेको पाइएको छ । जिल्लाका पुर्चौडी र पाटन नगरपालिका, शिवनाथ, पञ्चेश्वर, सुर्नया दोगडाकेदार र डिलाशैनी गाउँपालिकामा अस्पताल निर्माण गर्ने लक्ष्य थियो । तर अहिलेसम्म कुनै पालिकामा पनि आधारभूत अस्पताल बनाउने योजना अघि बढ्न सकेको छैन ।
अस्पताल कहाँ बनाउने भन्ने विषयमा विवाद हुँदा धेरै पालिकामा काम अगाडि बढ्न सकेको छैन । पुर्चौडी नगरपालिका, डिलाशैनी गाउँपालिका र पञ्चेश्वर गाउँपालिकामा जग्गा विवादले काम अगाडि बढ्न सकेको छैन । स्थानीयको माग एकातिर छ भने जनप्रतिनिधि अर्कैतिर बनाउने सुरमा रहदा काम अघि बढ्न नसकेको हो । पालिकाका पहुँचमा पुगेका नेताहरूले पनि आफूलाई पायक पर्ने ठाउँमा अस्पताल बनाउन खोज्दा पनि धेरै पालिकामा विवाद भएको छ । बैतडीस्थित पुर्चौडी नगरपालिकाको न्वादेउ स्वास्थ्य चौकी निर्माणको ठेक्का लिएको जगदम्बा बिल्डर्स प्रालिले गत वर्ष काम नै नगरेकाले बजेट फ्रिजमा गएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विनोदसिंह कुँवरले बताए । जिल्लामा १० शय्याका ३१ र १५ शय्याका २२ अस्पताल निर्माण गरिने योजना थियो । ९ वटा प्राथमिक स्वास्थ्य केन्द्रमा र ४४ स्वास्थ्य चौकीअन्तर्गत भवन बन्न लागेका हुन् ।
सुदूरपश्चिमका ८८ स्थानीय तहमध्ये ५४ वटा उक्त कार्यक्रमअन्तर्गत समेटिएका छन् । कतीपयमा अस्पताल निर्माण कहाँ बनाउने भन्ने विवाद छ भने र स्थानीयको माग अनुसार काम अघि बढेको छैन् । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले ०७७/७८ को नीति तथा कार्यक्रममा घोषणा गरेको थियो– भूगोल र जनसंख्याका आधारमा हरेक स्थानीय तहमा ५, १० वा १५ शय्यासम्मका आधारभूत अस्पताल निर्माण गरिनेछ । सोही नीतिअनुसार ०७७ साउन २८ मा ३९६ र पुस १२ मा २५९ वटा स्थानीय तहमा आधारभूत अस्पताल निर्माण गर्ने मन्त्रीस्तरीय निर्णय भएको थियो । तर तीन वर्षसम्म अधिकांश अस्पतालको निर्माण अलपत्र छ ।