धनगढी। सम्झौताअनुसार साढे दुई वर्षमा बन्नुपर्ने सेती प्रादेशिक अस्पतालको भवन ६ बर्ष भन्दा समय बित्दासम्म अधुरै छ। निर्माण कम्पनीको लापरबाहीले लामो समयसम्म भवनको काम अलपत्र पर्दा अस्पताललाई भने भवन अभावले सेवा प्रवाहमा समस्या भइरहेको छ।
भवन अभाव भएपछि अस्पतालले अधुरो भवनका केही कोठाबाट ओेपिडी सेवा सुरु गरेपनि त्यो प्रयाप्त छैन्। १८ करोड ७४ लाख २८ हजारको लागतमा दुईतले भवन निर्माण गर्न रबिना–थेगिन जेभीसँग २८ कात्तिक ०७४ मा सम्झौता भएको थियो। सम्झौताअनुसार २७ वैशाख ०७७ मै भवन निर्माणको काम सम्पन्न हुनुपर्ने हो। तर भवन अझै अधुरो छ। अस्पताल भवन लामो समयसम्म नबन्दा समस्या भएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष नरबहादुर शाहले बताए।सेती अस्पतालमा भवनको अभावले सेवा विस्तारमा मात्रै होइन भएकै सेवा प्रभावकारी बनाउन समस्या भएको उनको भनाई छ। अस्पतालमा भवन अभावका कारण ओपिडी सेवा निर्माणाधिन भवनबाटै दिन थालिएको छ। पुरानो अस्पतालको आकस्मिक कक्ष सानो हुँदा बिरामीको उपचारमा समस्या हुने गरेको छ।अस्पतालको सेवा प्रभावकारी बनाउने योजना कार्यान्वयन गर्न अधुरो भवन बाधक रहेको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष शाहले गुनासो गरे ।
२०७४ कात्तिक २७ गते दुई तले नवजात र मातृ शिशु विस्तारित भवन निर्माण गर्न काठमाडौँको रविना थेगिम जेभीले अस्पतालसँग ठेक्का सम्झौता गरेको थियो।सम्झौतामा ३० महिनामा निर्माण सम्पन्न गरी भवन सेती प्रादेशिक अस्पताललाई हस्तान्तरण गर्ने उल्लेख छ। तर हालसम्म पनि ठेकेदार कम्पनीको लापर्वाहीका कारण भवन निर्माण अधुरै रहेको हो। निर्माण कम्पनीले हालसम्म ८५ प्रतिशतमात्र काम पूरा गरेको सहरी विकास सङ्घीय आयोजना कार्यान्वयन एकाइ धनगढीका सुचना सूचना अधिकारी सौरभ कलौनीले जानकारी दिए। ६ पटक भन्दा बढी थप भईसकेको भवनमा फेरि म्याद थप हुने कुनै सम्भावना नभए पनि काम भने अगाडि नबढेको उनले बताए।असार ११ गतेबाट दैनिक जरिवाना लाग्ने गरी काम भईरहेको उनले बताए।प्रदेशको ‘रिफरल’ अस्पतालका रूपमा रहेको सेतीमा सुदूरपश्चिमका पहाडी जिल्लाबाट बिरामी उपचारका लागि आउने गरेका छन्। भवन अभावले सहजरुपमा उपचार प्रदान गर्न मात्रै नभई भवनअभावले सेवा विस्तारप्रभावकारी बनाउन समस्या छ। धनगढीको मुख्य सडक विस्तारका क्रममा अस्पतालको ‘ओेपिडी’ भवन भत्किएपछि भवनको अभाव छ। अस्पतालले निर्माणाधीन अधुरो भवनका केही कोठाबाट ओपिडी सेवा सुरु गरेको छ।