काठमाडौं। नागरिक उन्मुक्ति पार्टी (नाउपा) को अध्यक्षमा रेशम चौधरी निर्वाचित भएको विवरण अद्यावधिक गर्न पार्टीले निर्वाचन आयोगलाई निवेदन दिएको छ। पार्टीले माघ २९ गते अध्यक्षमा रेशम चौधरी सर्वसम्मतले चयन भएको भन्दै विवरण अद्यावधिक गर्न आयोगलाई निवेदन दिएको प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए।
उनका अनुसार उक्त निवेदन दर्ता पनि भइसकेको छ। यद्यपि उक्त निवेदनमाथि आयोगले कुनै निर्णय लिइसकेको छैन। ‘उहाँहरूले राजनीतिक दलसम्बन्धी ऐनअनुसार अध्यक्ष चयन भएको ३० दिनभित्र अध्यावधिक गराउन निवेदन दिनुपर्ने काम पूरा गर्नुभएको छ। हामीले निवेदन दर्ता गरेका छौं,’ उनले भने, ‘तर उक्त निवेदनमाथि आवश्यक निर्णय भइसकेको छैन।’
उनका अनुसार रेशम चौधरी अध्यक्ष भएकोविरूद्ध दुई वटा उजुरी समेत परेका छन्। दुबै उजुरी बेनामे भएको र देशभक्त नागरिकहरू भनेर सम्बोधन गरिएको छ। त्यसमा उठाएका विषयहरूबारे पनि आयोगले विचार गर्नुपर्ने प्रवक्ता पौडेलले बताए।
‘उजुरीकर्ताहरूलाई पनि जवाफ फर्काउनुपर्ने होला। अध्यक्षजीलाई नै पनि कतिपय प्रश्न सोध्नुपर्ने होला। त्यसैले अहिलेलाई यो निवेदन विचाराधीन छ,’ उनले भने, ‘सचिवालयमा भएका र आयुक्तजीहरू बसेर छलफल गरी निर्णय गर्नुहोला।’
गत पुस २७ गते कैलालीको टीकापुरमा भएको नागरिक उन्मुक्ति पार्टीको महाधिवेशनले रेशम चौधरीलाई सर्वसम्मतिले अध्यक्ष चयन गरेको थियो। त्यसअघि उनकै श्रीमती रञ्जिता श्रेष्ठ अध्यक्ष थिइन्। उक्त अधिवेशनपछि श्रेष्ठ सहअध्यक्ष मनोनीत भएकी थिइन्। श्रेष्ठ भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री समेत हुन्। टीकापुर घटनामा जन्मकैद सजाय जोगिरहेका रेशम चौधरीलाई गणतन्त्र दिवसको दिन राष्ट्रपति रामचन्द्र पौडेलबाट आममाफी पाएर गत जेठ १७ गते कारागारबाट रिहा भएका थिए।