काठमाण्डौं। आजदेखि ललितपुरको गोदावरीमा सुरु हुने कांग्रेसको महासमिति बैठक अघि इतर समूहका नेता डा.शेखर कोइरालाले सुदूरपश्चिम प्रदेशका जिल्ला सभापतिहरूसँग छलफल गरेका छन्। कोइरालाको सचिवालय बालुवाटारमा भएको छलफलमा समसामयिक राजीतिक घटनाक्रम,महासमिति बैठक लगायत विषयमा कुरा भएको छ ।
छलफलमा अछामका पुष्प शाह, कञ्चनपुरका पदम बोगटी,बैतडीका चतुरबहादुर चन्द,डडेलधुराका भीम साउद,बाजुराका रामसिंह रावल,बझाङका खड्ग बोहोरा,डोटीका नरेन्द्रसिंह थापा लगायतका कांग्रेस नेताहरू उपस्थित थिए।
‘महासमति बैठकमा विभिन्न कुराहरू उठेका छन् । विधानका कुरा, गठबन्धनका कुरा, पार्टी संगठनको निस्क्रियता र अनियमितताका बारेमा कुरा भयो । यही गर्नुपर्छ भन्ने होइन । असहमतिका विषयमा सबै सभापतिहरूले कुरा राख्नुपर्छ भन्ने कुरा भयो,’ सभापति चतुरबहादुर चन्दले भने ‘जिल्ला सभापतिसँग समन्वय गरेर निर्णय गर्ने अधिकार हुनुपर्छ अन्यथा पार्टी कमजोर हुन्छ । केन्द्रीय कार्समिति बनाउँदा पनि जिल्लासँ समन्वय गर्नुपर्छ भन्ने कुरा हो ।’
ललितपुरको गोदावरीमा सुरु हुने बैठक फागुन १० गतेसम्म चल्नेछ । कार्यक्रमस्थलमा देशभरबाट महासमिति सदस्यहरू उपस्थित रहेका छन् । बैठक पार्टी सभापति शेरबहादुर देउवाले दिउँसो १ बजे उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।
बैठकमा उपसभापति पूर्णबहादुर खड्काले नीति प्रस्ताव, महामन्त्री गगनकुमार थापाले सांगठनिक प्रश्ताव र अर्का महामन्त्री विश्वप्रकाश शर्माले राजनीतिक प्रस्ताव पेस गर्ने कार्यसूची छ । त्यस्तै प्रवक्ता प्रकाश शरण महतले नेपालको वर्तमान आर्थिक अवस्था, सम्भावना र भावी दिशासम्बन्धी प्रतिवेदन र लेखा समिति संयोजक श्यामकुमार घिमिरेले लेखा परीक्षण प्रतिवेदन पेस गरी समूहगत रूपमा छलफल हुनेछ ।