कैलाली। नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले कैलालीको बर्दगोरिया गाउँपालिकाको प्रशासनिक भवनको उद्घाटन गरेका छन्।
एमाले कैलालीको जिल्ला अधिवेशनको उद्घाटनका लागि कैलालीको घोडाघोडी आएका अध्यक्ष ओलीले आज भवन उद्घाटन गरेका हुन् । आर्थिक वर्ष २०७६/०७७ सालबाट निर्माण सुरु गरिएको प्रशासनिक भवन ५ वर्ष पछि सम्पन्न भएको हो ।
बर्दगोरिया गाउँपालिका–४ मा अवस्थित नवनिर्मित भवनको उद्घाटन पछि कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले गाउँपालिकालाई नमुना बनाउन नयाँ प्रशासकीय भवनको सदुपयोग गर्न सुझाव दिए। उनले गाउँपालिकाबाट दिने सेवा प्रवाह चुस्तदुरुस्त बनाई जनतालाई सहजरुपमा सेवादिन आग्रह गरे।
अध्यक्ष ओलीले एमाले कैलालीको नवौँ जिल्ला अधिवेशनको उद्घाटन गर्ने कार्यक्रम छ । उनी आजै काठमाडौँदेखि कैलाली आइपुगेका हुन् । ६ करोड १७ लाख लागतको ५० कोठे प्रशासनिक भवन १५ महिनामा सम्पन्न गर्ने गरी श्यामसुन्दर निर्माण सेवाले २०७६ को साउनमा ठेक्का सम्झौता गरेको थियो । स्थानीय तह स्थापनादेखि भाडाको घरमा कार्यालय सञ्चालन गरेको गाउँपालिकाले यतिबेला भने आफ्नै भवनबाट सेवा प्रवाह गर्दै आएको छ ।