धनगढी। नेकपा एमाले कैलालीको जिल्ला अधिवेशन आजबाट कैलालीको सुखडमा सुरु हुँदै छ। आइतबारबाट एमाले अध्यक्ष केपी शर्मा ओलीले जिल्ला अधिवेशनको उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।
बर्दगोरिया गाउँपालिकाको प्रशासकीय भवन उद्घाटन पछि एमाले अध्यक्ष ओलीले जिल्ला अधिवेशन उद्घाटन गर्ने छन् । जिल्ला अधिवेशनको लागि अध्यक्ष ओली आजै काठमाडौँबाट आउँदै छन् ।आज र भोली हुने अधिवेशनले नयाँ नेतृत्व पनि चयन गर्ने जनाइएको छ । जिल्लाको नेतृत्व लिन तीन पक्षबिच आन्तरिक सङ्घर्ष चलिरहेको छ । जिल्लाको नेतृत्व आफ्नो पक्षमा पार्न एमालेका तीन केन्द्रीय नेताहरू लबिङ गरिरहेका छन् ।
आजबाट सुरु हुने कैलाली जिल्ला अधिवेशनका लागि मुख्यतया त्रिपक्षीय प्रतिस्पर्धा देखिएको छ। अध्यक्ष पदका लागि यज्ञराज ढुङ्गाना, दुर्गा जोशी र डेजी पाण्डे गरी तीन जनाले दाबी गरेका छन् । ढुङ्गाना पूर्व प्रदेश कमिटी सचिवालय सदस्य हुन् भने जोशी कैलालीको कार्यवाहक अध्यक्ष र पाण्डे सचिव हुन् ।
उपाध्यक्षमा लोकेन्द्र शाही, मनराज शाही, नृप खडायत, मदनराज ओझा, शर्मानन्द भट्ट, गजेन्द्र स्वार, दलबहादुर रावल र प्रेम डगौरा गरी ८ जनाले दाबी गरेका छन् । सचिवमा ममताप्रसाद चौधरी, हितेस ओझा, विष्णु चन्द, कमलबहादुर राना, चूडामणि भट्ट, आनन्दप्रसाद भट्ट, शम्भु कुँवर, वीरेन्द्रबहादुर रावल, द्वारिका न्यौपाने, विष्णुबहादुर चौधरी, वक्तबहादुर शाही र भीष्मराज सुवेदी गरी सचिवमा १२ जनाले उम्मेदवारी दिने तयारीमा छन् । २ पदको उपसचिवमा ३० जनाले दाबी गरेका छन् ।