बाजुरा। पछिल्लो समय बाजुराका अधिकांश कृषकको ड्रागन खेतीमा आकर्षण बढ्दैगएको छ । पहिला स्याउ सुन्तला अमिलो कागती ओखरलगायतका फलफुल उत्पादन गर्दैआएका यहाँका किसानलाई ढुवानीमा बाटोको समस्या भएको थियो।
अहिले गाउँ–गाउँमा सडक सञ्जालको पहुँच भएसँगै जिल्लाका अधिकांश कृषकले पछिल्लो समय ड्रागन खेती गर्न थालेका छन् । यो ड्रागन खेती गर्दा यहाँका कृषकलाई जिविकोपार्जनमा सहज हुने देखिएपछि उनीहरु अहिले ड्रागन खेतीतर्फ आकर्षित बन्दैगएका हुन् । ड्रागन खेती गर्दा बाँझो जमिनको सदुपयोग हुने र आर्थिक अवस्थामा पनि राम्रो परिवर्तन ल्याउने सम्भाना रहेपछि आफू ड्रागन खेती गर्न लागेको हिमाली गाउँपालिका –६ का विष्णुराज पाण्डेले बताए।
उनले भने, “अहिले मैले परीक्षणका लागि आठ सयभन्दा बढी ड्रागनको बोट रोपेको छु । अहिले रोपेको सबै राम्रो भएको छ । केही सयमपछि फेरि थप लगाउने योजना बनाएको छु ।” गाउँमा बहुउद्देश्य कृषि फर्म दर्ता गरेको छु । यो फर्मको आधारले कृषि ज्ञान केन्द्रले पनि ५० प्रतिशत सहयोग गरेपछि चितवनबाट आठसय ड्रागनको बोट ल्याएर रोपेको भण्डारीले बताए।
यो फलको तौल दुई सयदेखि एक किलो पचास ग्राम जति हुन्छ । पानी, प्रोटिन, खरानी, चिल्लो, प्रदार्थ, रेसा, क्यारोटिन, क्याल्सियम फोसफोरस, फलाम, भिटामिन वान, भिटामिन बिटु, भिटामिन बिथ्री, भिटामिन सी, थायमिन र नियसिनलगायतका तत्वहरु पाइने कृषि विज्ञको भनाइ छ ।
बाजुराको हिमाली र बडिमालिका नगरपालिका अधिकांश स्थानीयले पछिल्लो समय ड्रागन खेती सुरु गरेका छन् । ड्रागन मानव स्वास्थ्यका लागि निकै उपयोगी हुने र यहाँका स्थानीयको आर्थिक अवस्थामा समेत यसले निकै परिवर्तन ल्याउने सम्भावना देखिएकाले कृषकलाई ड्रागन खेती गर्नमा सहयोग गर्दैआएको कृषि ज्ञान केन्द्र बाजुराले जनाएको छ ।गोरखापत्रबाट