काठमाण्डौ। त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयको वेबसाइट ह्याक भएको १५ दिनपछि सञ्चालनमा आएको छ। कार्यालयले गएको माघ १५ गतेदेखि ट्रान्सक्रिप्टलगायतका सेवा अनलाइनमार्फत् शुरु गरेसँगै वेबसाइट ह्याक भएको थियो। ह्याक भएको वेबसाइट अस्ति मङ्गलवारदेखि सञ्चालनमा आएको हो।
वेबसाइट पूर्ण रूपमा सञ्चालनमा आएको र ट्रान्सक्रिप्ट, प्रोभिजनल प्रमाणपत्र, पुनर्योग, प्रतिलिपि, कागजातमा रहेको त्रुटि सच्याउनेलगायतका काम अनलाइनमार्फत हुन थालेको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ। कार्यालयका अनुसार अब अनलाइनबाट प्रक्रिया पुर्याएर आवेदन दिएका विद्यार्थीको आवश्यक कागजात अपुग भए अथवा अरु समस्या आए इमेल अथवा फोनमार्फत विद्यार्थीलाई जानकारी दिइने र त्यसअनुसार फेरि आवेदन दिनुपर्ने हुुन्छ।
आवेदन अनुसार विद्यार्थीको प्रमाणपत्र सम्बन्धित क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालयमार्फत वितरण गरिने र प्रमाणपत्र सङ्कलन गर्दा स्वयम् विद्यार्थी अथवा विद्यार्थीले इच्छाइएको व्यक्ति हुनुपर्ने कार्यालयले जनाएको छ। परीक्षा समयमै नहुने, भएका परीक्षाको पनि मार्कसिट र अरु कागजात लिन विद्यार्थीले धेरै दुःख पाउनुपर्ने गुनासो बढेपछि त्रिविले अनलाइनबाट सेवा दिन शुरु गरेको हो।