बझाङ । बझाङको बित्थडचिरका एक व्यक्तिलाई प्रहरीले चरेससहित बैतडीबाट पक्राउ गरेको छ । सिगास गाउँपालिका–९ श्रीभावरबाट बझाङको बित्थडचिर गाउँपालिका–५ का ६४ बर्षीय धौले महरलाई दुई किलोग्राम चरेससहित मंगलबार राति पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।
प्रहरी प्रवक्ता प्रहरी निरीक्षक खेमविक्रम केसीका अनुसार महरलाई सिगास गाउपालिका–९ श्रीभावरस्थित खोड्पे–बझाङ सडकखण्डबाट चरेससहित पक्राउ गरिएको हो । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र अस्थाई प्रहरी पोष्ट ढोल्यामोडबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले महरलाई चरेससहित पक्राउ गरिएको केसीले बताए । पक्राउ परेका महरलाई इलाका प्रहरी कार्यालय पाटनमा राखिएको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।