धनगढी। नेकपा एमाले कैलालीको अधिवेशनका लागि बिहीबार (आज) पदाधिकारीमा आकांक्षा राख्नेलाई इच्छापत्र पेश गर्ने समय दिइएको छ। फागुन ६ र ७ गते घोडाघोडी नगरपालिकाको सुखडमा आयोजना हुने नवौँ जिल्ला अधिवेशनमा अध्यक्षसहितका पदाधिकारीमा आकांक्षीलाई इच्छापत्र पेश गर्ने समय दिइएको हो।
एमालेका पोलिटब्युरो सदस्य तथा कैलाली इन्चार्ज गणेशसिंह ठगुन्नाले सहमतीमै नेतृत्व चयन गर्न सहमतिको प्रयासका लागि अधिवेशन अगावै आकांक्षीबाट इच्छापत्र पेश गर्ने समय दिइएको बताए । ‘पदाधिकारीमा आकांक्षा राख्ने, उम्मेदवारी दिने चाहाना भएकाहरुले आज साँझसम्म पार्टी कार्यालयमा जिल्ला इन्चार्जलाई सम्बोधन गरेर इच्छापत्र पेश गर्ने समय दिइएको छ,’ ठगुन्नाले भने, ‘भोलि र पर्सी आकांक्षीहरुबीच सहमतिको प्रयसा गरिनेछ।’
एमालेले अधिवेशनमा हुने अनावश्यक खर्च र नलम्बियोस् भन्ने उद्देश्यले कैलालीमा अधिवेशन उद्घाटन पूर्व नै पदाधिकारीमा इच्छापत्र माग गरिएको जनाएको छ। नवौँ जिल्ला अधिवेशनको उद्घाटन पार्टी अध्यक्ष केपी शर्मा ओलीले गर्नेछन्। अहिलेसम्म एमाले जिल्ला अध्यक्षमा कार्यवाहक अध्यक्ष दुर्गाप्रसाद जोशी, पूर्व प्रदेश सचिवालय सदस्य यज्ञ ढुंगाना र जिल्लाका सचिव डेजी पाण्डे आकांक्षी देखिएका छन् । तर बिहीबार इच्छापत्र पेश गर्ने समय भएका कारण के–कति जनाले अध्यक्षमा दाबी गर्छन् भन्ने कुरा त्यसपछि मात्र थाहा हुने नेताहरु बताउँछन्।