काठमाण्डौं। पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानले एआईको सहयोगमा जेलबाट भाषण दिएका छन्। पूर्वप्रधानमन्त्री खानले एआई प्रयोग गरेर तयार पारिएको एक भिडिओमार्फत आफूहरूले चुनाव जितेको दाबीसहित भाषण गरेका हुन्।
उक्त भाषणको भिडिओ खानको एक्स अकाउन्टबाट आज (शनिबार) बिहानै सार्वजनिक भएको थियो । भिडिओमा खान क्यामेराको अघि बसेर बोलेको देखिन्छ । तर त्यो भिडिओ उनी जेल पर्नुअघिको रेकर्ड गरिएको थियो। त्यस्तै भोइस क्लोन गरी तयार पारिएको खानको आवाज मात्र त्यो भिडिओमा हालिएको छ ।
त्यसकारण बोल्ने क्रममा हुने मुखको चाल र उनको आवाज नमिलेको भिडिओमा देख्न सकिन्छ। यो भिडिओ खानका राजनीतिक प्रतिद्वन्द्वी एवं पूर्वप्रधानमन्त्री नवाज शरीफले चुनावमा विजयी भएको दाबी गरेको केही घण्टापछि आएको थियो। यसकारण भिडिओमा खानले आफ्ना समर्थकहरूलाई प्राप्त भएको जीत मनाउन आह्वान गरेका छन् ।
قوم کی جانب سے انتخابات میں تاریخی مقابلے، جس کے نتیجے میں تحریک انصاف کو عام انتخابات 2024 میں بے مثال کامیابی میسرآئی،کے بعد چیئرمین عمران خان کا(مصنوعی ذہانت سے تیار کردہ) فاتحانہ خطاب pic.twitter.com/8yQqes4nO9
— Imran Khan (@ImranKhanPTI) February 9, 2024
त्यस्तै नवाज शरीफको पहिलेको दाबीलाई अस्वीकार गर्दै खानले मतदाताहरूलाई परिणामले सत्तामा रहेकाहरू ‘डराएको’ बताएका छन् । यद्यपि एआई प्रयोग गरी खानले आफ्नो समर्थकका लागि भाषण दिएको यो पहिलो घटना होइन । चुनावअघि पनि खानले यसैगरी एआई प्रयोग गरी जेलबाटै भाषण दिएका थिए ।हाल पाकिस्तानमा निर्वाचनको अन्तिम नतिजा आउन बाँकी नै छ । अहिलेसम्मको परिणाम हेर्दा खान र शरीफ दुवैको बहुमत पुग्ने देखिँदैन । यद्यपि सरकार गठन गर्न कुन दल सक्षम हुनेछ भन्ने कुरा अन्तिम परिणामपछि स्पष्ट हुनेछ ।