धनगढी। कैलालीको धनगढी वडा नम्बर ४ उत्तरबेहडीमा कार र स्कुटर एकआपसमा ठोक्किएर दुर्घटना भएको छ।
बिहीबार साँझ ७ बजे धनगढी उपहानगरपालिका–४ उत्तरबेहडीमा नेपाल विद्यार्थी संघ कैलाली सभापति चढेको कार र स्कुटर एक आपसमा ठोक्किएको प्रहरीले जनाएको छ । ३० वर्षीय नेपाल विद्यार्थी संघ सभापति मनिष कुँवरले चलाएको बा ९ च २६२५ नम्बरको कार र विपरीत दिशाबाट आएको से ६ प ७१८७ नम्बरको स्कुटर आपसमा ठोक्किएको हो।
कारले विपरीत दिशाबाट आएको स्कुटरलाई ठक्कर दिदा स्कुटर उछिएको थियो। स्कुटरमा सवार गोदावरी नगरपालिका–५ गेटाका २७ वर्षीय रस्सन र सोही स्थानकी ३० वर्षीया चन्द्रा चौधरी घाइते भएको प्रहरीले जनाएको छ। दुबै जनाको धनगढीस्थीत माया मेट्रो अस्पतालमा उपचार भइरहेको छ। दुबैको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता कुलदिप चन्दले बताए। एकआपसमा ठोक्किएर कार र स्कुटरमा क्षती पुगेको छ । घटनाका सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ।