धनगढी। कञ्चनपुरमा नियम विपरीत चलाइएका ५८ भारतीय गाडी प्रहरी नियन्त्रणमा परेका छन् । कञ्चनपुरमा नियम विपरीत चलाइएको भन्दै प्रहरीले भारतीय नम्बर प्लेटका ५८ वटा गाडी नियन्त्रणमा लिएको हो ।
नेपाल-भारत सिमाको नेपाल तर्फको दशगजा क्षेत्रमा लामो समयदेखि भारतीय नम्वर प्लेटका सवारी साधनहरु पार्किङ गरी नेपालमा कुनै भन्सार नतिरी,सुविधा नलिएर आर्थिक ऐन र भन्सार ऐनमा व्यवस्था भएका ऐन नियम पालना नगरी यात्रु बोक्ने गाडीलाई मंगलबार नियन्त्रणमा लिइएको हो ।
दशगजा क्षेत्रको संरक्षण तथा व्यवस्थापनका लागि स्थानीय रुपमा सर्वपक्षीय बैठक बसाली सवारी साधन पार्किङ नगर्ने निर्णय गरि सहयोगको लागि प्रहरीलाई सोमबार पत्र दिइएको थियो । सोही आधारमा सो क्षेत्रमा पार्किङ गरिएका र आसपासमा चलिरहेका ५८ वटा सवारी साधनहरु नियन्त्रणमा लिईएकोमा आवश्यक प्रक्रिया र कागजातहरु चेकजाँच गरि ४८ वटा सवारी साधनलाई सम्झाई बुझाई गरि छोडिएको र १० वटा सवारी साधनलाई आवश्यक कागजात र प्रक्रिया नपुर्याएका कारण कारवाहीका लागि भन्सार कार्यालय गड्डाचौकी पठाइएको प्रहरीले जनाएको छ ।