धनगढी। पश्चिम नवलपरासीको सुनवलमा बस र टिपर ठोक्किँदा १७ जना घाइते भएका छन्। घाइतेहरुमध्ये ११ जना अस्पतालमा उपचाररत छन्। तीमध्ये एक जनाको अवस्था गम्भीर छ । अन्य ६ जना भने उपचारपछि डिस्चार्ज भइसकेका छन् ।
काठमाडौंबाट बाजुरा आउँदै गरेको सु.प.प्र ०१–००१ ख ३४८० नम्बरको रात्रि बस र बुटवलबाट सुनवलतर्फ जाँदै गरेको लु २ ख १६९६ नम्बरको टिपर बिहीबार राति ९ः४५ बजे सुनवल–४ स्थित गैरे पेट्रोलपम्प नजिकै अल्कत्रेडाँडा भन्ने स्थानमा ठोक्किएका थिए ।
जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका सूचना अधिकारी डिएसपी रमेश बोहराले दुर्घटनाबारे जानकारी दिँदै भने, ‘‘बसमा सवार ३५ जनामध्ये चालकसहित १७ जना घाइते भएको छन् । ६ जना डिस्चार्ज भइसकेका छन् । अस्पतालमा उपचाररत बाँकी ११ जनामध्ये एकजना सिरियस हुनुहुन्छ । उहाँको टाउकोको अपरेसन गर्नुपर्ने भनिएको छ।’ घाइतेहरुको देवदह मेडिकल कलेज भलुही र लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरहेको छ । टिपर चालक सुनवल–१० गैंडाखाल बस्ने अन्दाजी २८ वर्षीय सुनिल दर्जी प्रहरी नियन्त्रणमा छन् ।घाइतेहरुः
१. बस चालक कैलालीको चुरे गाउँपालिका ४ बस्ने ३९ वर्षीय कर्णबहादुर सावदको (टाउको र कम्मरमा चोट)
२. रुपन्देहीको बुटवल उपमहानगरपालिका–१२ नयां बस्ने वर्ष ३४ को गिरिराज भुसाल (टाउकोमा चोट)
३. कञ्चनपुरको बेलौरी नगरपालिका–१० बस्ने वर्ष २५ को सुनिल पाल (टाउको र शरीरको बिभिन्न भागमा चोट)
४. रुपन्देही बुटवल उपमहानगरपालिका–४ बस्ने वर्ष १६ को सुजन बुरलाकोटी (हात खुट्टामा चोट)
५. जिल्ला बाजुरा कोल्टी नगरपालिका–९ बस्ने वर्ष ४० कि (महिला) राजु थापा (बायां खुट्टाको तिघ्रामा चोट)
६. ऐ.ऐ. निजको छोरा बस्ने वर्ष अं. १६ को लक्ष्मण थापाको दाहिने हात र घुडामाको चोट अवस्था मध्यम ।
७. राजु थापाकी छोरा बर्ष ३ को सुनिल थापा (हात खुट्टामा चोट)
८. जिल्ला नवलपुर देवचुली नगरपालिका–१२ गैडी बस्ने वर्ष ३२ को प्रकाश न्यौपाने (टाउकोमा चोट) न्यौपानेलाई बुटवल चौराह हस्पिटल रुपन्देही तर्फ रिफर गरिएको छ।
९. जिल्ला बर्दिया मधुबन नगरपालिका–७ बस्ने वर्ष २५ को बिनोद थापा (भित्री छातीमा चोट)
१०. जिल्ला नवलपरासी सुनवल नगरपालिका–८ बस्ने वर्ष ६३ को बलराम उबरकोटी (बांया हातमा चोट)
११. सोही ठाउँ बस्ने निजको छोरा वर्ष अं. ३० को बलदिप नेपालीको टाउको सुन्निएको अवस्था मध्यम ।
१२. बलराम उबरकोटीको छोरा वर्ष ३९ को भुपाल नेपाली (दाहिने हातमा चोट)
१३. जिल्ला बाजुरा हिमाली गाउँपालिका–७ बस्ने वर्ष ६० कि टिकादेवी सन्याल (टाउको र छाथिमा चोट)
घाइतेहरुको देवदह मेडिकल कलेज भलुही रुपन्देहीमा उपचार भइरहेको डिएसपी रेशम बोहराले बताए । उक्त बस सुदुरपश्चिम व्यवसायी समितिको रहेको उनले बताए । यस्तै, लुम्बिनी प्रादेशिक अस्तपाल बुटवल रुपन्देहीमा उपचार भईरहेको घाइतेहरु
१४. जिल्ला बाजुरा बुढीनन्द नगरपालिका–१ बस्ने वर्ष ५१ को खडकराज गिरी (दाहिने कुममा चोट)
१५. खडकराजको श्रीमती वर्ष ४५ कि चन्द्र गिरी (हात खुट्टामा चोट)
१६. जिल्ला बाजुरा दुर्गाथली गाउँपालिका–४ बस्ने वर्ष २९ को किशोर भण्डारी (खुट्टामा चोट)
१७. जिल्ला बाजुरा गौमुल गाउँपालिका–६ बस्ने वर्ष १८ को महेश रोकाय (दुबै हात खुट्टामा चोट)