धनगढी। सुदूरपश्चिमका पहाडका हिमाली भू–भागमा हिमपात सुरु भएको छ। गएरातिदेखि खप्तड क्षेत्रमा तीन फिट हिउँ परेको हो। बझाङको छबिसपाथिभेरा–७ बुडखोरीका वीरेन्द्र धामीले सुदूरपश्चिम र कर्णालीका धेरै स्थानमा गएरातिदेखि हिमपात भइरहेको बताए । हरेक वर्ष हिउँदमा हिमपात हुने जिल्लामा यस वर्ष ढिलोगरी हिउँ परेको हो ।
खप्तड पर्यटन विकास समितिका कार्यकारी निर्देशक भीमबहादुर खड्काले खप्तड क्षेत्रमा तीन फिटसम्म हिउँ जमेको बताए। उनले खप्तडको बगलेख र झिग्रानासम्म समेत हिउँ परेको बताएका छन्। अहिले पनि खप्तड क्षेत्रमा हिमपात जारी रहेको छ। सुदूरपश्चिमका पहाडी जिल्लाहरू बाजुरा, बझाङ लगाएतका हिमाली भू–भागमा हिमपात सुरु भएको हो।
बाजुरा प्रहरीका अनुसार उच्च हिमाली भू–भागहरूमा वर्षासँग हिमपात हुँदैछ। जिल्लामा पाँच महिनापछि हिमपात सुरु भएको हो। बुधवार रातिदेखि जिल्लामा वर्षासँग उच्च क्षेत्रमा हिउँ पर्न थालेको बाजुरा प्रहरीले बताएको छ। वर्षा र हिमपातका कारण ग्रामीण क्षेत्रका सडकसमेत अवरुद्ध हुन थालेका छन्। सुदूर पहाडमा हिमपात सुरुभएसँग चिसो बढेको छ।