कैलाली। कैलालीको अत्तरिया महोत्सवमा भेटिएको नक्कली टिकट ठेली प्रकरणको छानविनको माग गर्दै हस्ताक्षर अभियान सुरु भएको छ। ‘नक्कली टिकट प्रकरण सत्यतथ्य छानविन दवाव संघर्ष समिति’ ले आज सोमबारदेखि हस्ताक्षर अभियान सुरु गरेको हो।
संघर्ष समितिका संयोजक गणेश बहादुर बलायरले नक्कली टिकट ठेली प्रकरणलाई बेवास्था पार्ने प्रयास गरिएको भन्दै अत्तरिया बसपार्कबाट हस्ताक्षर अभियान सुरु गरिएको बताए। आइतबार संघर्ष समितिले नक्कली टिकट ठेली प्रकरणको छानविनको माग गर्दै जिल्ला प्रशासन कार्यालय कैलालीमा ज्ञापन पत्र बुझाएको थियो। थप दवाव दिन अभियान सुरु गरिएको उनले बताए।अत्तरियामा पुस २६ गतेदेखि माघ ७ गते सम्म सञ्चालित सुदूरपश्चिम महोत्सवको आठौं दिन २८ वटा नक्कली टिकट ठेली बरामद गरिएका थिए। नक्कली टिकट ठेलीबाट टिकट काटेर महोत्सव आयोजक अत्तरिया उद्योग वाणिज्य संघलाई हानी नोक्सानी पुर्याएको भन्दै छानविन गरी दोषी पत्ता लगाउन माग गरिदै आएको छ। दोषी लुकाउन संघकै पदाधिकारी लागेको भन्दै अत्तरियाका व्यवसायीहरु दवाव दिदै आएका छन ।घटनाको छानविनका लागि संघले प्रशासनमा उजुरी दिसकेका छन् । त्यसपछि जिल्ला प्रहरीले अनुसन्धान अगाडि बढाएको भएपनि दोषी पत्ता नलागेको प्रहरीले बताएको छ।