धनगढी। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले हवाई भाडामा लाखौँ रकम खर्चिएका छन्। प्रदेशका मुख्यमन्त्री शाहले ११ महिनाको अवधिमा ५ लाख ५६ हजार आठ सय २६ रुपैयाँ हवाई टिकट भाडा खर्च गरेका हुन्।
गत वर्ष माघ २७ गते मुख्यमन्त्रीको शपथ लिएका उनी सो अवधीमा २२ पटक सङ्घीय राजधानी काठमाडौँ पुगेका छन्। मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयको तथ्याङ्क अनुसार मुख्यमन्त्रीको शपथ लिएको दोस्रो दिन अर्थात् २८ गते नै उनी सङ्घीय राजधानी काठमाडौँको उडेका थिए। काठमाडौँ उड्नुको कारण उनले प्रधानमन्त्रीसँग भेटघाट तथा छलफल गरेको उल्लेख गरेका छन्।
यस्तै २०७९ सालको फागुन ९ गते, २४ गते र २८ गते गरी एक महिनामै तीन पटक सङ्घीय राजधानी गए। फागुन २४ गएर २६ गते फर्किएका मुख्यमन्त्री २७ गते एक दिन मात्र धनगढी बसेर फेरि २८ गते सङ्घीय राजधानी उडेको मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयको तथ्याङ्कले जनाएको छ। माघको २८ गते प्रधानमन्त्रीसँग भेटघाट गर्न गएका मुख्यमन्त्री शाहले फागुनको ९ गते र २४ गते पनि त्यही शीर्षकमा भ्रमण खर्च बुझेका छन्। उनले २२ मा १० पटक प्रधानमन्त्रीसँग भेटघाट तथा छलफल गरेको भ्रमणमा उल्लेख गरेका छन्।
मुख्यमन्त्री शाहले २०८० साउन १ गते देखि २०८० साउन ८ गतेसम्मका ८ दिन प्रधानमन्त्री पुष्पकमल दाहालको पत्नीको श्रद्धाञ्जली सभामा सहभागी हुन काठमाडौँ गएको उल्लेख गरेका छन। उक्त ८ दिन अवधीको खर्च बाफत उनले ३५ हजार ५२५ रकम बुझेका छन् । यस्तै २०८० असोज २६ गते देखि २८ गतेसम्म तीन दिनको खर्च ३० हजार ७११ रकम बुझेका छन। उक्त तिन दिनसम्म पिएलजिएसपीको राष्ट्रिय निर्देशक समितिको बैठक भनेर रकम बुझेको मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयको तथ्याङ्कले जनाएको छ ।यसरी मुख्यमन्त्री शाहको लाखौँ रकम हवाई भाडा खर्चिनु सरकारलाई अनावश्यक आर्थिक भार पर्ने जानकारहरु बताउँछन् ।