धनगढी : कैलालीको अत्तरियामा आयोजना गरिएको सुदूरपश्चिम प्रादेशिक महोत्सवमा भेटिएका नक्कली टिकट ठेली प्रकरणको यथाशिघ्र छानविन गर्न माग गरिएको छ । महोत्सवमा टिकट विक्रिको जिम्मा पाएको दुर्गालक्ष्मी बहुमुखी क्याम्पस स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) ले सोमबार एक पत्र पठाउदै आयोजक अत्तरिया उद्योग वाणिज्य संघलाई नक्कली टिकट ठेली प्रकरणको शिघ्र छानबिन गर्न माग गरेको हो ।
‘संघ र स्ववियु बिच गरिएको १० बुँदे सम्झौता अनुसार स्ववियुले आयोजक अत्तरिया उद्योग वाणिज्य संघले प्रदान गरेका टिकट ठेली मात्रै बिक्रि वितरण गर्ने भन्ने स्पष्ट उल्लेख छ’ स्ववियुका अध्यक्ष भुवन महरा र सचिव बम बहादुर बि.क द्धारा हस्ताक्षरित उक्त पत्रमा भनिएको छ ‘हामीले सम्झौता अनुसार संस्थाका महासचिव र सचिवबाट बुझेर लिएका टिकट वितरण गर्ने क्रममा दुई प्रकारका ठेली देखिएपछि हामीले नै महासचिवलाई जानकारी गराएका हौ ।’
तत्पश्चात वाणिज्य संघले वास्तविकता पहिचान गरी बाहिर ल्याउनुको सट्टा स्ववियुको संलग्नता भएको जसरी सम्झौता विपरित टिकट विक्रिवितरणमा रोक लगाई स्ववियुको मानमर्दन हुने काम गरेको स्ववियुले आरोप लगाएको छ । पत्रमार्फत स्ववियुले उक्त कुरामा आफुहरुको घोर आपत्ति रहेकाले निष्पक्ष रुपमा छानविन समिति गठन गरि दोषीलाई यथाशिघ्र कारबाही गर्न संघलाई माग गरेको छ । उक्त कार्यमा स्ववियुले पनि आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने पत्रमार्फत प्रतिवद्धता व्यक्त गरिएको छ ।