बैतडी। बैतडीको मेलौलीमा टिप्पर दुर्घटना भएको छ । मेलौलीबाट पाटन तर्फ आइरहेको रित्तो टिप्पर बिहीवार बिहान मेलौलीको लामालेकमा दुर्घटनामा परेको हो । सुप्र प ०१००१ क २३९४ नम्बरको टिप्पर लामालेक हतरंगा जाने सडकको जिरो प्वाइन्ट नजिक दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता नन्दराज जोशीले जानकारी दिए ।
टिप्पर सडकबाट ५० मिटर तल खसेको उनले बताए । दुर्घटनामा परी टिप्पर चालक र सहचालक घाइते भएका छन् । चालक मेलौली १ का २४ बर्षीय गम्भीर टमटा र सहचालक मेलौली १ कै १९ बर्षीय रोहित दयाल घाइते भएका हुन् । घाइते दयालको अवस्था गम्भीर रहेको बताइएको छ। घाइतेहरुको उद्धार भइरहेको छ । दुर्घटनाको कारण नखुलेको र घटनाबारे थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।