बझाङ। बझाङ सदरमुकाम चैनपुरमा रहेको एक पसलमा आगलागी भएको छ। सोमबार दिउँसो करिब एक बजे चैनपुरको लोकतान्त्रिक चोकमा रहेको सनम सिंह व्याँसीको जंगबहादुर स्टोरमा आगलागी भएको हो।
दियो बालेर माघिपर्वको दिन पसल बन्द गरेर संञ्चालक खाना खान गएको समयमा पसलमा आगलागी भएको स्थानियले बताएका छन् । नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना र स्थानीयहरुले दुई घण्टापछी मात्रै आगोलाई नियन्त्रणमा लिएका थिए।
कपडाको पसल भएका कारण पसलभित्र रहेका फेन्सी तथा थानका कपडाहरु बढी जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।आगलागीबाट ४०, ५० लाख बराबरको क्षति भएको हुनसक्ने बझाङ प्रहरी प्रमुख तथा डिसएपी भरतबहादुर शाहले बताए। आगलागीको कारण पनि पत्ता लाग्न नसकेको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। स्थानीयका अनुसार जयपृथ्वी नगरपालिकाले संञ्चालन गर्दै आएको दमकल समयमा आएको भए क्षती कम गर्न सकिने थियो।
सवा एक बजे दमकललाई फोन गरेपनी दमकल पौने चार बजेमात्र आइपुगेको थियो। आगो निभाउन आएको दमकलमा पानी नभएपछी आगोलाई नियन्त्रणमा नलई फर्केको थियो। त्यसपछी चैनपुर खानेपानी संस्थानको खानेपानीको सहायताले आगो नियन्त्रणमा लिईएको थियो। यता जयपुथ्वी नगरपालिकाका नगरप्रमुख चेतराज बजालले आफुलाई १ बजेर २७ मिनेटमा जानकारी आएको र चालकलाई फोन गर्दा आगो लागेको स्थानमा दमकलसहित गएको बताए।
दमकलमा थोरै पानि कम भएको र पानि भर्नका लागी तमैल जानुपर्ने बाध्यता रहेकाले चैनपुर आसपासमा नै पानि भर्न मिल्ने स्थान नबनाउन सक्नु आफ्नो कमजोरी रहेको बताए। आगामी दिनमा पनि यस्ता घटनाहरु हुनसक्ने भएकाले छिट्टै आफुले दमकलमा पानि भर्न मिल्ले बाताबरण बनाउने उनले बताए।सदरमुकाम चैनपुरमा बेलाबेला आगलागीका घटनाहरु घट्दै आएको भएपनि स्थानीय प्रशासन र जयपृथ्वी नगरपालिका सचतेन नभएको पाइएको छ। दमकलमा पानि नहुने,चालकलाई खोज्नुपर्ने,आगो लागेको स्थानका सहजै दमकल जान नसक्ने अवस्था हुँदा पनि त्यसमा सरोकारवालाको ध्यान जान नसकेको स्थानियको भनाई छ।