हामीले पश्चिम नेपालमा जुन भूकम्पको जोखिमको कुरा गरिरहेका छौँ, त्यसलाई अहिले गएको भूकम्पले कम गर्दैन भन्ने कुरा अहिलेसम्मको अध्ययनले देखाएको छ। तर, हाम्रो विडम्बना हो कि हामीले यति सानो भूकम्पले नै यति ठूलो क्षति बेहोर्नु परेको छ । हामी अप्ठेरो अवस्थामा छौँ । पोहोरदेखि नै आएका साना–साना मझौला भूकम्पले नै धेरै ठूलो क्षति गरेको छ।
यसको अर्थ यो होइन कि हामीले यही भूकम्पका वा यस्तै बझाङ, डोटी वा जाजरकोटमा आएको भूकम्पको जोखिमको कुरा गरेको हो । अहिलेसम्म अध्ययनले देखाएको जोखिम भनेको ठूलो महाभूकम्प जानसक्ने सम्भावना हो । त्यसको अगाडि अहिले गएका भूकम्पहरु धेरै साना भूकम्पहरु हुन्। जसले त्यहाँ भइरहेको विद्यमान नेपाल–हिमालयमा जहाँ भूकम्पीय जोखिम छ त्यसलाई कम गर्दैन ।
नेपाल–हिमालय वा हिमालयमा भूकम्प जाने भनेको कारण चाहिँ हिमालय बन्ने प्रक्रिया अर्थात् दक्षिणमा रहेको इण्डियन प्लेट उत्तरमा रहेको युरेसियन प्लेटमुनि छिर्ने क्रममा हिमालय क्षेत्रमा शक्ति सञ्चित हुन्छ । दुई वटा प्लेट, एउटा प्लेटको मुनि अर्को प्लेट सरिरहेको अवस्थामा शक्ति सञ्चित हुन्छ । के कारणले हुन्छ भन्दा हिमालयले वा माथि भएको प्लेटले इण्डियन प्लेट भित्र छिर्दा अवरोध पुर्याउँछ । त्यो अवरोधले गर्दा इण्डियन प्लेट माथि सर्ने र माथि भएको युरेसियन प्लेट अर्थात् हिमालयले त्यसलाई छिर्न नदिने जसले गर्दा यो ठाउँमा शक्ति सञ्चित हुने वा तनाव सृजना हुने हुन्छ ।
्जसलाई हामी भूकम्पीय शक्ति भन्छौँ । त्यस्तो शक्ति धेरै भएर कालान्तरमा त्यो शक्ति भूकम्पबाट मात्र बाहिर निस्कन्छ । त्यो शक्ति भूकम्पले मात्र बाहिर ल्याउँछ भन्ने अहिलेसम्मको अध्ययनले देखाएको छ । यसले गर्दा इण्डियन प्लेट र युरेसियन प्लेटको जुधाइ भएको ठाउँमा हामी छौँ । जुन जुधाइको कारणले शक्ति सञ्चित भइरहेको छ । त्यो सञ्चित भइरहेको शक्ति अहिलेसम्मको अध्ययनले ठूला भूकम्प जाँदाखेरि मात्र त्यो शक्ति क्षिण हुन्छ । र त्यो शक्ति सञ्चित हुने प्रक्रिया फेरि शुरु हुन्छ भन्ने कुरा अहिलेसम्मको अध्ययनले देखाएको छ । यसले गर्दा संसारमा भएका उच्च भूकम्पीय जोखिम क्षेत्रमध्येको एकमा हामी छौँ ।
हामीले के बिर्सनु हुँदैन भने हामी नेपालमा जति भूकम्प गयो भन्छौँ एकै ठाउँमा त्यसरी ठूलाठूला भूकम्पहरु नियमित अन्तरालमा वा छोटो समयमा आएको होइन भन्ने हामीले सम्झिन जरुरी छ । किनकि १९९० सालमा गएको भूकम्प पूर्वमा गएको हो भने २०७२ सालमा गएको भूकम्प १९९० सालमा भूकम्प गएको ठाउँमा गएको होइन । अथवा त्यो ठाउँमा भएको सञ्चित शक्तिले गएको होइन भन्ने कुरा हामीले बुझ्नुपर्छ । १९९० सालमा गएको भूकम्पभन्दा पूर्वपट्टिको भागमा २०७२ सालमा गएको गोरखा भूकम्प हो । यसले गर्दा अर्को ठाउँमा भएको सञ्चित शक्तिले गोरखा भूकम्प गएको भन्ने कुरा हामीले बुझ्नुपर्ने भयो ।पश्चिममा सञ्चित शक्ति बराबरको भूकम्प गएको छैन- १९९० सालको भूकम्पको कुरा गर्दा त्यही ठाउँमा पहिले त्यत्रो ठूलो महाभूकम्प सन् १२५५ अर्थात विसं १३१२ मा आएको थियो । जुन बेला काठमाण्डौका राजा अभय मल्लको निधन भएको थियो । साढे छ सय वर्षभन्दा अगाडि ठूलो भूकम्प गएको त्यही ठाउँमा १९९० सालमा भूकम्प गएको हो । त्यसकारण २०७२ सालमा गएको त्यही ठाउँमा गएको होइन । १९९० सालमा भूकम्प गएको ठाउँमा फेरि शक्ति सञ्चित हुने क्रम जारी छ ।
त्यसैगरी पश्चिमको कुरा गर्दा सन् १५०५ सबैभन्दा पछिल्लो पटक महाभूकम्प गएको भन्ने अहिलेसम्मको अध्ययनले देखाएको छ । त्योभन्दा पछि ठूलो भूकम्प जुन अवस्थामा अथवा जति शक्ति त्यहाँ सञ्चित छ त्यो शक्ति बराबरको भूकम्प अहिलेसम्म त्यहाँ गएको छैन । बझाङ, डोटी अथवा जाजरकोटमा गएको जस्ता ठूला भूकम्प गयो भने यो भूकम्पलाई हामीले कसरी बुझ्नुपर्छ त भन्दा त्यो भूकम्पले कति शक्ति लाने हो र त्यहाँ भूकम्प कति जान्छ भन्ने नबुझेसम्म साना भूकम्पलाई पनि यस्तो भूकम्प गयो अब शक्ति गयो होला भनेर गलतरुपमा बुझ्नुहुन्न ।
त्यसले गर्दा ठूलो भूकम्प जाने शक्ति त्यहाँ जम्मा भएको हो । त्यो बराबरको शक्ति साना भूकम्पले नजाने हुँदा भूकम्पीय जोखिम कायम रहन्छ । हाम्रो विडम्बना नै भन्नुपर्यो अहिलेको जाजरकोटको भूकम्प वा डोटी बझाङ जस्ता ६ दशमलव ४ वा ६ दशमलव ६ का यति सानो भूकम्प जाँदा पनि मानवीय क्षति र ठूलो भौतिक क्षति बेहोर्नु परेको छ । बझाङ र जाजरकोट भूकम्पको अवलोकन गर्ने क्रममा हामी कुन अवस्थामा छौँ भन्ने देखियो ।२०७२ सालको भूकम्पले पनि ठूलो भूकम्प जाँदा हाम्रो तयारीदेखि धेरै कुराको उजागर गरेको थियो । त्योभन्दा पनि दयनीय अवस्था पश्चिम नेपालमा रहेछ भन्ने कुरा अवलोकनका क्रममा देखियो । डोटी, बझाङ र जाजरकोट भूकम्पले जुन क्षति गर्यो त्यो कल्पनाभन्दा टाढाको कुरा हो ।
अझै पनि नसिकेको पाठ
हामी महाभूकम्पको अवस्थामा बसिरहेको, त्यसको तयारीमा बसिरहेको, त्यस्ता भूकम्पको क्षति कसरी कम गर्ने भन्ने अवस्थामा रहेको बेला पश्चिम नेपालको भूकम्पले हाम्रो अवस्थाको बारेमा चित्रण गरिदिएको छ । २०७२ सालको भूकम्पले अनुभव दिएर बसेको अवस्थामा यति सानो भूकम्पले हाम्रो ठूलो धनजनको क्षति भयो । जाजरकोटमा ठूलो मानवीय र भौतिक क्षति भयो । बझाङमा मानवीय क्षति कम भए पनि भौतिक क्षति त्यहाँ पनि जाजरकोटको भन्दा कम भने छैन ।
यसरी हेर्दा हामीले भूकम्पीय जोखिम छ भन्ने थाहा पाउँदा पाउँदै पनि क्षति न्यूनीकरण गर्नका लागि हामीले अहिलेसम्म गरेका कार्यहरु त्यो ठाउँमा पटक्कै पुगेको छैन । र, अर्को भूकम्प जाँदा यो भन्दा धेरै भयावह अवस्थामा हुन्छौँ भन्ने कुरा जाजरकोट र बझाङको क्षति हेर्ने हो भने कल्पनाभन्दा बाहिरको हुन्छ ।
त्यहाँका पुराना ३०/४० वर्ष अघि बनेका भवनहरु क्षति हुनुलाई चेतना थिएन, थाहा थिएन भनेर बुझ्न सक्छौँ । तर, त्यहाँ भने यसै वर्ष बनेका, अघिल्लो वर्ष बनेका र अहिले बन्दै गरेका भवनहरुलाई पनि हेर्ने हो भने त्यहाँका नागरिकलाई भूकम्प जान्छ भन्ने नै थाहा छैन । त्यहाँ ठूलो भूकम्प जान्छ अनि त्यसको जोखिम कम गर्नुपर्छ र त्यसै अनुसार संरचना बनाउनु पर्छ भन्ने नागरिकलाई थाहा भएको पाइएन । हामीले भूकम्प सम्बन्धी यति गर्यौँ र चेतना पुर्यायौँ भन्ने लागे पनि २०७२ सालपछि पनि हामीले नागरिकसम्म त्यो कुरा पुर्याउन सकेका छैनौँ र अवस्था दयनीय छ भन्ने देखिन्छ ।
हामी सबैलाई थाहा छ, भन्ने पनि गर्छौँ भूकम्पले जनको क्षति नगरे पनि भौतिक संरचना भने भूकम्पले नै क्षति बनाउने हो । मानवीय क्षति भने भौतिक संरचनाले गर्दा नै हुने हो । यसकारण कत्ति ढिलो नगरि हामीले बनाउने संरचना भूकम्प प्रतिरोधी र जोखिम कम हुने गरी बनाउनु पर्ने व्यवस्था सुनिश्चित गर्नु नै सबैभन्दा ठूलो चुनौती छ । कम्तीमा दूरदराजका गाउँमा थाहा नहोला तर, सदरमूकाम जस्ता ठाउँहरुमा पनि भवन आचारसंहिता प्रयोग भएको छैन ।
बझाङ तथा जाजरकोटमा त्यो देखिएन । अहिले भइसकेको व्यवस्थालाई लागू गर्नुपर्ने टड्कारो अवस्था छ । बझाङ तथा जाजरकोटको भूकम्पलाई हेर्दा उद्धार कार्य तत्काल प्रभावकारीरुपमा भएको पाइयो । राहत र पुनःनिर्माणको काम भने हामीलाई कुनै पनि अनुभव नभएको देखिएको छ । ती ठाउँहरुमा हेर्दा २०७२ को भूकम्पबाट केही पाठ नसिकेको जस्तो देखिएको छ ।उज्यालोबाट(राष्ट्रिय भूकम्प मापन केन्द्रका वरिष्ठ भूगर्भविद् डा. लोक विजय अधिकारीसँगको कुराकानीमा आधारित)