धनगढी। कैलालीका दुई घरमा चोरी भएको छ। कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर ४ र गौरीगंगा नगरपालिका वडा नम्बर १ चौमालामा चोरी भएको प्रहरीले जनाएको छ ।
पौष २० गते चोरहरुले दुई घरबाट साढे ९ तोला सुन, ४६ हजार नगद र चाँदीका गरगहना समेत चोरी गरेको पीडितले गुनासो गरेका छन्। धनगढी वडा नम्बर ४ का तीर्थराज न्यौपानेले घरबाट तीन तोला सुन, ४२ हजार नगद र ५ तोला चाँदी चोरी भएको बताएका छन्। उनले आफु बुटवलबाट धनगढी घर आउँदा घरभित्र रहेका सबै गरगहना र नगद चोरी भएको थाहा पाएको बताए।
प्रहरीलाई घटनाका बारेमा खबर गरेको भएपनि अहिलेसम्म चोरी भएको सुन फेला नपरेको बताएका छन्। त्यस्तै साढे ६ तोला सुन र चार हजार नगद कैलालीकै एक अर्को घरबाट पनि चोरी भएको छ। यही पौष २० गते रातिको समयमा गौरीगंगा नगरपालिका वडा नम्बर १ चौमालास्थित प्रकाश थापाको घरबाट साढे ६ तोला सुन र नगद चोरी भएको हो।चोरले छड्के तिलहरी एक तोला, माइली तिलहरी पाँच आना, पाइप जन्तर ७ आना,झुम्का १२ आना,हार साढे एक तोला र रानी हार ४ आना चोरी भएको बताए।
गरगहना चोरी भएको विषयमा प्रहरीमा निवेदन दिए पनि अहिलेसम्म खोजीकार्य नभएको थापाले गुनासो गरे। त्यस्तै चोरले मोति क्लिक १५ आना,शिरबन्दी पाँच आना,टप तीन आना,औठी ६ आना र बाला एक तोला घरभित्रैबाट गायब भएको थापाले बताए। गरगहना हराएको भन्दै पिडितले प्रहरी कार्यालय र नेपाल सुनचाँदी व्यावसायी महासंघमा खोजीकार्य र सहयोगका लागि निवेदन दिएका छन्। सो बारेमा अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।